काठमाडौं । स्कटल्याण्डले अष्ट्रेलियामा जारी आठौं संस्करणको टी-ट्वान्टी विश्वकप क्रिकेटमा सुखद सुरुआत गरेको छ।
सोमबार भएको खेलमा पूर्व च्याम्पियन वेस्ट इन्डिजलाई ४२ रनले हराउँदै स्कटल्याण्डले सुखद सुरुआत गरेको हो ।
स्कटल्याण्डले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १८.३ ओभरमा अलआउट हुदै १ सय १८ रन मात्र बनाउन सक्यो ।
वेस्ट इन्डिजका लागि पूर्व कप्तान जासन होल्डरले ३८ रन बनाउँदा कायल केयर्सले २० रन बनाए ।
ब्राण्डन किंग्सले १७ रन जोड्दा ईभान लुईसले १४ रन बनाए । उसका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
वेस्ट इन्डिजलाई कम स्कोरमा रोक्न स्कटल्याण्डका मार्क वाटले ३ तथा ब्राड होल र मिचेल लिग्सले समान २/२ विकेट लिए । सफियान सरिफ र जोस डाभियले समान १/१ विकेट लिए ।
त्यस अघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६० रन बनाएको थियो । स्कटल्याण्डका लागि जर्जि मुन्सेले अविजित ६६ रनको अर्धशतकीय ईनिङ खेले । उनले ९ चौकाको मद्दतले अर्धशतक बनाए । कलुम म्याकलोडले २३ रन बनाउँदा मिचेल जोन्सले २० रन बनाएका थिए ।
क्रिस ग्रिभ्स र कप्तान रिचि बेरिङ्टनले समान १६/१६ रन बनाएका थिए । वेस्ट इण्डिजका लागि अल्जारी जोसेफ र जासन होल्डरले समान २/२ तथा आडेन स्मिथले १ विकेट लिए ।
जितसँगै स्कटल्याण्ड समूह 'बी' को शीर्ष स्थानमा उक्लिएको छ । सोमबार नै हुने दोस्रो खेलमा समूह 'बी' का जिम्बाबे र आयरल्याण्ड खेल्दै छन् ।