काठमाडौं । अष्ट्रेलियामा सुरु आठौं संस्करणको टी-ट्वान्टी विश्वकप क्रिकेटमा नेदरल्याण्ड्सले सुखद सुरुआत गरेको छ ।
आइतबार भएको खेलमा युएईलाई ३ विकेटले हराउँदै नेदरल्याण्ड्सले सुखद सुरुआत गरेको हो ।
यूएईले दिएको १ सय १२ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.५ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो । नेदरल्याण्ड्सका लागि म्याक्स ओ डाउनले २३ तथा कोलिक याक्रिकमानले १७ रन बनाए ।
कप्तान स्कट एडवार्डले १६ तथा टिम प्रेग्निलले १५ र बास डि लिडले १४ रन बनाए ।
यूएईका लागि जुनेद सिद्धिकिले ३ तथा जाहोर खान,कार्तिक मैयप्न,वासिल हमिद र आयान खानले समान १/१ विकेट लिए ।
त्यस अघि पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ११ रन बनाएको थियो । युएईका लागि मुहम्मद वासिमले ४१ तथा भृत्य अरविन्दले १८ रन जोडेका थिए ।
कासिफ दाउदले १५ रन जोड्दा चिराग सुरीले १२ रन बनाए । आयान खानले ५ तथा वासिल हमिदले ४ रन जोडे । नेदरल्याण्ड्सका लागि बास डि लिडिले ३ तथा फ्राड केलसनले २ विकेट लिए । जितसँगै नेदरल्याण्ड्स समूह 'ए' को दोस्रो स्थानमा उक्लिएको छ ।
यस विश्वकपमा १६ राष्ट्र सहभागी रहेका छन् । १६ टोलीमा ८ टोलीले पहिलो राउण्ड खेल्नेछन् । पहिलो चरणमा ४/४ टोलीको दुई समूह रहेकोमा दुबै समूहका शीर्ष दुई टोली दोस्रो राउण्डका लागि छनोट हुनेछन् ।
पहिलो राउण्डको समूह 'ए' मा श्रीलंका,नामिबीया,यूएई र नेदरल्यान्ड्स रहेका छन् । समूह 'बी' मा वेस्ट इण्डिज,जिम्बाबे,आयरल्याण्ड्स र स्कटल्याण्ड रहेका छन् । दोस्रो राउन्डमा पुगिसकेका आठ टोली र पहिलो राउण्डबाट आउने चार टोली पुनः सुपर १२ मा खेल्नेछन् ।
यसमा रहेका १२ टोलीलाई पनि ६/६ टोली गरि दुई समूहमा बिभाजन गरिने छ ।