काठमाडौं । पाकिस्तान जुनियर क्रिकेट लिग (पीजेसीएल) मा नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर कुशल मल्ल आबद्ध ग्वादार शार्कले आफ्नो लिग चरणको अन्तिम तथा पाँचौ खेल आज आईतबार खेल्दैछ ।
शार्कको पाँचौं खेल मर्डन वारियर्ससँग नेपाली समयअनुसार साँझ ६:४५ मा रहेको छ । खेल पाकिस्तानको लाहोरमा रहेको गद्दाफी क्रिकेट मैदानमा हुनेछ । शार्क यो खेलमा जित निकाल्दै समूह चरणको खेलमा बिजेता बनेर प्लेअफमा प्रवेश गर्न चाहन्छ ।
आजको खेलमा जुन टिम बिजेता बन्छ सोही टोली समूह स्तरको बिजेता बन्ने भएकोले यो खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । चार खेलमा एक हार र तिन जितका साथ शार्क अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।
यता, वारियर्स पनि समान खेल र जितका साथ रहे पनि रन रेटका आभारमा तेस्रो स्थानमा रहेको छ । कुशल भने चारै खेलमा प्लेईङ-११ मा रहेका थिएनन् ।
पीजेसीएलको ड्राफ्टबाट कुशललाई ग्वादार शार्कले छैटौं चरणमा अनुबन्ध गरेको थियो । तर, अघिल्ला खेलमा कुशल बेन्चमा रहेका थिए ।
१८ वर्षीय कुशलले नेपालका लागि ८ एकदिवसीय तथा १५ टी-ट्वान्टी अन्तराष्ट्रिय खेलेका छन् । कुशलले कम उमेरमा एकदिवसीय अन्तराष्ट्रियमा अर्धशतकको कीर्तिमान समेत बनाएका थिए ।
कुशल यस अघि यूएईमा आयोजना हुने टी-१० लिगमा समेत सहभागीता जनाईसकेका छन् ।