काठमाडौं । नामिबियाले अष्ट्रेलियामा सुरु आठौं संस्करणको टी-ट्वान्टी विश्वकप क्रिकेटमा सुखद सुरुआत गरेको छ ।
आइतबार भएको खेलमा पूर्व च्याम्पियन श्रीलंकालाई ५५ रनले हराउँदै नामिबियाले सुखद सुरुआत गरेको हो ।
नामिबियाले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १९ ओभरमा अलआउट हुदै १ सय ८ रन मात्र बनाउन सक्यो । श्रीलंकाका लागि कप्तान डासुन शनकाले २९ तथा भानुका राजापाक्षेले २० रन बनाए ।
धनन्जया डा शिल्भाले १२ तथा महेश तिक्षणाले अविजित ११ रन बनाए । उसका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।
श्रीलंकालाई कम स्कोरमा रोक्न नामिबियाका ब्रिनाड स्कोल्ज,बेन शाइकोन्गो,जान फ्रायकलिंक, डेबिड बिजेले समान २/२ तथा जेजे स्मिथले १ विकेट लिए ।
त्यस अघि पहिले ब्याटिङ गरेको नामिबियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो ।
नामिबियाका लागि जान फ्रायालिंकले ४४ रन जोड्दा जेजे स्मिटले अविजित ३१ रन बनाएका थिए । स्टेफन ब्राडले २६ तथा कप्तान ग्रहार्ड इरामुस तथा जान निकोलसले समान २०/२० रन बनाए ।
श्रीलंकाका लागि प्रमोद मधुशंकाले २ तथा चमिका करुणारत्ने,दुश्मन्था चमिरा,वानिन्दु हशरंगा र महेश तिक्षणाले समान १/१ विकेट लिए ।
जितसँगै नामिबिया समूह 'ए' को शीर्ष स्थानमा उक्लिएको छ ।
आइतबार नै हुने दोस्रो खेलमा समूह 'ए' का यूएई र नेदरल्यान्ड्स खेल्दै छन् । जीएमएचबीए मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो १:४५ मा हुनेछ ।