काठमाडौं । नवौं राष्ट्रिय खेलकद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले दोस्रो जित निकालेको छ ।
पोखरामा शनिबार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ३० रनले पराजित गरेको छ । बागमती प्रदेशले दिएको ८९ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेशले १९ ओभर १ बलमा अलआउट हुनु अघि ५८ रन मात्र बनायो ।
गण्डकीका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बागमतीले २४ रन अतिरिक्तका रुपमा खर्चियो ।
बागमतीका लागि विपिशा शाही र असिमना कर्माचार्यले समान २/२ तथा कृष्मा गुरुङ,आरिता बिडारी,सोनी पाख्रिन,संस्कृति फुयालले समान १/१ विकेट लिईन् । त्यस अघि पहिले ब्याटिङ गरेको बागमतीले २० ओभरमा १० विकेट गुमाएर ८८ रन बनायो ।
बागमतीका लागि सोनी पाख्रिन र आरती बिडारीले मात्र दोहोरो अंकमा रन बनाए । पाख्रिनले २१ तथा बिडारीले ११ रन बनाईन् । गण्डकीले २० रन अतिरिक्तमा खर्चियो ।
गण्डकीका लागि शृष्टि जैसीले २ तथा कुशुम गोदार,शिला क्षेत्री र निरुता जिटीले समान १/१ विकेट लिए ।
समूह 'ए' मा रहेको बागमती ३ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ ।
गण्डकी भने जित बिहिन रहेर प्रतियोगिताबाट बाहिरिएको छ । यस समूहबाट पुलिस क्लब सेमिफाईनल पुगिसकेको छ । महिला क्रिकेटमा ९ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । समूह 'ए' मा एपीएफ क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश,सुदुरपश्चिम प्रदेश र बागमती प्रदेश रहेको छ । समूह 'बी' मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश-१ र लुम्बिनी प्रदेश रहेको छ ।
महिला क्रिकेट असोज १ कात्तिकसम्म हुनेछ । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भईसकेको छ ।