काठमाडौं । नवौं राष्ट्रिय खेलकद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लबले लगातार तेस्रो जित हात पारेर एक खेल अगाबै सेमिफाईनलमा स्थान बनाएको छ ।
पोखरामा शनिबार भएको खेलमा नेपाल एपीएफ क्लबले मधेश प्रदेशलाई २७ रनले पराजित गरेको छ ।
एपीएफले दिएको १ सय २ रनको लक्ष्य पछ्याएको मधेशले २० ओभरमा ७ विकेट ७४ रन बनायो । मधेशका लागि कप्तान कविता गौतमले अविजित १३ तथा सरस्वती कुमारीले १३ रन बनाईन् ।
अनुराधा चौधरीले ११ रनमा आउट भईन् । उसका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । एपीएफका लागि नेरी थापाले ३ तथा ईन्दु बर्मा,सुमन विष्ट,सुस्मा श्रेष्ठ र सरिता मगरले समान १/१ विकेट लिए ।
पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा ७ विकेट गुमाएर १ सय १ रन बनाएको थियो । एपीएफका लागि ममता चौधरीले अविजित १७ तथा राजमती ऐरीले १६ रन बनाईन् । ज्योती पाण्डेले १५ रन जोड्दा नेरी थापाले १२ रन बनाएकि थिईन् ।
कप्तान सिता राना मगर र रोमा थापाले समान ८८ रन बनाएकि थिईन् । मधेशका लागि सरस्वती कुमारीले ३ तथा कविता गौतम र शान्ति चौधरीले समान २/२ विकेट लिए ।
जितसँगै एपीएफ ३ खेलमा ६ अंक जोड्दै समूह 'ए' बाट एक खेल अगावै सेमिफाईनल प्रवेश गरेको छ । मधेश भने ३ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।
मधेशको सेमिफाईनलको सम्भावनामा कायमै रहेको छ । समूह 'बी' बाट भने समूह बिजेताका रुपमा पुलिस क्लब र उपबिजेताका रुपमा लुम्बिनी प्रदेश सेमिफाईनल पुगिसकेका छन् ।
आजनै हुने दोस्रो खेलमा बागमती प्रदेश र गण्डकी प्रदेशबीच खेल हुनेछ । महिला क्रिकेटमा ९ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । समूह 'ए' मा एपीएफ क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश र बागमती प्रदेश रहेको छ ।
समूह 'बी' मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश-१ र लुम्बिनी प्रदेश रहेको छ ।