पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला हक्कीमा गण्डकी प्रदेश विजयी भएको छ ।
शुक्रबार भएको खेलमा लुम्बिनी प्रदेशलाई ८-० को गोल अन्तरले हराउँदै गण्डकीले जित निकालेको हो ।
खेलको पहिलो क्वाटरमा गण्डकीको तर्फबाट ज्योती काफ्लेले गोल गर्न सफल भएकी थिइन् । खेलको सुरुआती ५ मिनेटमा नै ज्योतीले गोल गरेकी थिइन् । त्यस्तै खेलको १३ मिनेटमा गण्डकीको तर्फबाट सबिना पुन रानाले गोल गरेकी थिइन् ।
खेलको दोस्रो क्वाटरमा लुम्बिनी प्रदेशको गोलरक्षक घाइते भएकी थिइन् । पुनम डांगीलाई चोट लागेपछि लुम्बिनीले गोलरक्षक परिवर्तन गरेको थियो । घाइते खेलाडीलाई अस्पताल लगिएको छ । गोलरक्षा गर्दा उनको खुट्टामा चोट लाग्न पुगेको हो । यस्तै खेलको २९ औं मिनेटमा सृजना नेपालीले गण्डकीको लागि एक गोल गरेकी थिइन ।
त्यस्तै खेलको तेस्रो क्वाटरमा गण्डकीले पुन दुई गोल गर्यो ३५ मिनेटमा सबिना पुन मगर र ३७ औं मिनेटमा सोनु बरालले गोल गरेका थिए । यस्तै अन्तिम क्वाटरमा गण्डकीको लागि ज्योतीले फेरि दुई गोल गरिन । ४८ औं मिनेटमा र ५१ मिनेटमा ज्योतीले गोल गरेकी थिइन । त्यस्तै ५७ औं मिनेट सबिना पुन मगरले गण्डकीको लागि एक गोल गरेकी थिइन् ।
यसअघि हिजो भएको खेलमा गण्डकीले प्रदेश १ लाई ७-० को गोल अन्तरले हराएको थियो । यस्तै आज भएको पहिलो खेलमा नेपाल आर्मीले ८-० को गोल अन्तरले मधेश प्रदेशलाई हराएको छ ।
सात टिम सहभागी रहेको प्रतियोगितामा दैनिक दुई खेल हुँदै छ ।
भोलि प्रतियोगिताको तेस्रो दिन बागमती प्रदेश र नेपाल आर्मीबीच प्रतिस्पर्धा हुँदा सुदुरपश्चिम प्रदेश र मधेस प्रदेश मैदानमा उत्रिदै छन् ।