काठमाडौं । नवौं राष्ट्रिय खेलकद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लबले लगातार दोस्रो जित हात पारेको छ ।
पोखरामा बिहिबार भएको खेलमा नेपाल एपीएफ क्लबले गण्डकी प्रदेशलाई ९ विकेट पराजित गरेको छ ।
गण्डकीले दिएको २७ रनको लक्ष्य एपीएफले १४ बलमै १ विकेट गुमाएर पूरा गर्यो ।
एपीएफको जितमा कप्तान सिता राना मगरले अविजित १२ तथा ईन्दु बर्माले अविजित ९ रन बनाईन् ।
गण्डकीका लागि शृष्टि जैसीले १ विकेट लिए ।

पहिले ब्याटिङ गरेको गण्डकीले १८ दशमलव २ ओभरमा अलआउट हुदै २६ रन बनाएको थियो । गण्डकीका लागि कुनै ब्याटरले पनि दोहोरो अंकमा रन बनाउन सकेनन् । उसका कप्तान शृष्टि जैसीले बनाएको ५ रन नै सर्वाधिक रह्यो ।
एपीएफका लागि ईन्दु बर्माले २ तथा सुमन विष्ट, नेरि थापा, सीता राना मगर र निशा भट्टले समान १-१ विकेट लिएका थिए ।
जितसँगै एपीएफ ४ अंक जोड्दै समूह एको शीर्ष स्थानमा कायम रहेको छ । गण्डकी भने ३ खेलमा जित बिहिन रहँदै पुछारमा रहेको छ ।
आजनै हुने दोस्रो खेलमा सुदुरपश्चिम प्रदेश र मधेस प्रदेशबीच खेल हुनेछ ।
महिला क्रिकेटमा ९ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
समूह एमा एपीएफ क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश र बागमती प्रदेश रहेको छ ।
समूह बीमा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश १ र लुम्बिनी प्रदेश रहेको छ ।