काठमाडौं । नवौं राष्ट्रिय खेलकद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हात पारेको छ ।
पोखरामा बुधबार भएको खेलमा नेपाल पुलिस क्लबले प्रदेश १ लाई १ सय १८ रनले पराजित गरेको छ ।
पुलिसले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले २० ओभरमा ८ विकेट गुमाएर ४० मात्र जोड्न सक्यो ।
प्रदेश १ का लागि लकिता राजवंशी र सानु राजवंशीले समान ११/११ रन बनाए । उसका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पुलिस क्लबका लागि हिरन्माई रोयले ३ तथा कविता जोशी, कविता कुँवर र सबनम राईले समान १/१ विकेट लिए ।
त्यस अघि पहिले ब्याटिङ गरेको पुलिसले २० ओभरमा ३ विकेट गुमाएर १ सय ५८ रन जोडेको थियो । पुलिसका लागि सम्झना खड्काले ६० रनको अर्धशतकीय ईनिङ खेले ।
खड्काको यो अर्धशतक प्रतियोगिताको पहिलो अर्धशतक समेत रहेको छ । कविता कुँवरले ३७ तथा अप्सरी बेगमले अविजित २१ रन बनाईन् । कप्तान रुबिना क्षेत्रीले अविजित १६ तथा काजल श्रेष्ठले ६ रन बनाईन् ।
प्रदेश १ का लागि निशा शाहले १ विकेट लिईन् ।
जितसँगै पुलिस ४ अंक जोड्दै समूह 'बी' को शीर्ष स्थानमा कायमै रहेको छ ।
प्रदेश एक २ खेलमा १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

आज नै हुने दोस्रो खेलमा कर्णाली प्रदेश र लुम्बिनी प्रदेशबीच खेल हुनेछ ।
महिला क्रिकेटमा ९ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
समूह 'ए' मा एपीएफ क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश,सुदुरपश्चिम प्रदेश र बागमती प्रदेश रहेको छ ।
समूह 'बी' मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश-१ र लुम्बिनी प्रदेश रहेको छ ।