काठमाडौं । पाकिस्तान जुनियर क्रिकेट लिग (पीजेसीएल) मा नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर कुशल मल्ल आबद्ध ग्वादार शार्कले आफ्नो तेस्रो खेल आज बुधबार खेल्दैछ ।
शार्कको तेस्रो खेल गुजरनवाला जाईन्टस्सँग नेपाली समयअनुसार साँझ ६:४५ मा रहेको छ । खेल पाकिस्तानको लाहोरमा रहेको गद्दाफी क्रिकेट मैदानमा हुनेछ ।
शार्क लगातार तेस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा शार्कले रावलपिण्डी राईडर्सलाई तथा दोस्रो खेलमा हैदराबादलाई पराजित गरेको थियो।
यता, जाईन्टस् भने तेस्रो खेलमा पहिलो जितको खोजीमा रहेको छ । दुई जितका साथ शार्क अंकतालिकाको दोस्रो स्थानमा रहेको छ ।
पीजेसीएलको ड्राफ्टबाट कुशललाई ग्वादार शार्कले छैटौं चरणमा अनुबन्ध गरेको थियो । तर, अघिल्ला दुबै खेलमा कुशल बेन्चमा रहेका थिए ।
१८ वर्षीय कुशलले नेपालका लागि ८ एकदिवसीय तथा १५ टी-ट्वान्टी अन्तराष्ट्रिय खेलेका छन् ।
कुशलले कम उमेरमा एकदिवसीय अन्तराष्ट्रियमा अर्धशतकको कीर्तिमान समेत बनाएका थिए ।
कुशल यस अघि यूएईमा आयोजना हुने टी-१० लिगमा समेत सहभागीता जनाईसकेका छन् ।