काठमाडौं । नवौं राष्ट्रिय खेलकद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित निकालेको छ ।
पोखरामा मंगलबार भएको खेलमा सुदुरपश्चिमले गण्डकी प्रदेशलाई ६ विकेट पराजित गरेको छ । गण्डकीले दिएको ६० रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमले १० ओभर २ बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
सुदुपश्चिमको जितमा रितु कनौजियाले २२ तथा स्नेहा महराले अविजित २१ रन बनाईन् ।
गण्डकीका लागि शिला क्षेत्रीले २ तथा शृष्टि जैसीले १ विकेट लिईन् । त्यस अघि पहिले ब्याटिङ गरेको गण्डकीले २० ओभरमा ५ विकेट गुमाएर ५९ रन बनाएको थियो ।
गण्डकीका लागि कप्तान शृष्टि जैसीले अविजित २८ रन बनाईन् । गण्डकीका अन्य ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।
सुदुरपश्चिमका लागि रितु कनौजियाले २ तथा अनु कडायत,स्नेहा महरा र सावित्री धामीले समान १/१ विकेट लिए ।
जितसँगै सुदुरपश्चिम २ अंक जोड्दै समूह 'ए' को दोस्रो स्थानमा उक्लिएको छ । हारसँगै अंक बिहिन रहँदै गण्डकी पुछारमा रहेको छ ।
महिला क्रिकेटमा ९ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
समूह 'ए' मा एपीएफ क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश,सुदुरपश्चिम प्रदेश र बागमती प्रदेश रहेको छ ।
समूह 'बी' मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश-१ र लुम्बिनी प्रदेश रहेको छ ।