काठमाडौं । नवौं राष्ट्रिय खेलकद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले विजयी सुरुआत गरेको छ ।
पोखरामा सोमबार भएको खेलमा पुलिसले कर्णाली प्रदेशलाई डीएल मेथडमा ६३ रनले पराजित गरेको छ । राष्ट्रिय स्तरको पहिलो प्रतियोगिता खेलिरहेको पुलिसको यो डेब्यु खेल हो ।
वर्षाका कारण खेल १६ ओभरमा घटाईएको थियो ।
पुलिसले दिएको १ सय ११ रनको लक्ष्य पछ्याएको कर्णालीले १०.२ ओभरमा ७ विकेट गुमाएर १७ रन बनाएको अवस्थामा वर्षा पुनः सुरु भएर खेल सुचारु हुन नसके पश्चात खेलको निर्णय डीएल मेथडमा गरिएको थियो ।
कर्णालीका लागि दिक्षा पुरिले अविजित ७ रनको सर्वाधिक ठूलो ईनिङ खेलिन । कर्णालीका ९ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । उसका ५ खेलाडी डगआउट भए ।
कर्णालीलाई सस्तैमा समेट्न पुलिसका लागि सबनम राई,संगिता राई,हिरन्माया रोय,ईश्वरी बिष्ट तथा कविता जोशीले १/१ विकेट लिए ।
त्यस अघि पहिले ब्याटिङ गरेको पुलिसले १६ ओभरमा ६ विकेट गुमाएर १ सय १० रन बनाएको थियो । पुलिसका लागि सम्झना खड्काले २५ तथा कविता कुँवर र काजल श्रेष्ठले समान १६/१६ रन बनाईनन् । रेवती धामीले १४ तथा कविता जोशीले ८ रन बनाईनन् ।
कर्णालीका लागि अन्जु गुरुङले ३ तथा अन्जली क्षेत्री र बिना थापाले समान १/१ विकेट लिए ।
आज नै हुने दोस्रो खेलमा प्रदेश नम्बर-१ र लुम्बिनी प्रदेशबीच खेल हुनेछ ।
महिला क्रिकेटमा ९ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
समूह 'ए' मा एपीएफ क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश,सुदुरपश्चिम प्रदेश र बागमती प्रदेश रहेको छ ।
समूह 'बी' मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश-१ र लुम्बिनी प्रदेश रहेको छ ।
महिला क्रिकेट असोज १ कात्तिकसम्म हुनेछ । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भईसकेको छ ।