काठमाडौं । नवौं राष्ट्रिय खेलकद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले विजयी सुरुआत गरेको छ ।
पोखरामा आइतबार भएको खेलमा बागमतीले सुदुरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गरेको छ ।
सुदुरपश्चिम प्रदेशले दिएको ७२ रनको लक्ष्य बागमतीले १३ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।
बागमतीको जितमा कन्चन श्रेष्ठले २५ तथा सुमन खतिवडाले अविजित ११ रन बनाईन् । अस्मिता खरेलले ९ रन बनाउँदा आरती बिडारी ३ रनमा अविजित रहिन् ।
सुदुरपश्चिमका लागि यसु पाण्डेले १ विकेट लिईन् ।
त्यस अघि पहिले ब्याटिङ गरेको सुदुरपश्चिम १८ ओभर २ बलमा ६१ रनमा अलआउट भयो । सुदुरपश्चिमका लागि अनु कडायत र रुबी पोदारले मात्र दोहोरो अंकमा रन बनाए । अनुले २२ तथा रुबीले १२ रन बनाईन् ।
बागमतीका लागि सोनी पाख्रिनले ५ विकेट लिईन् । खुसी डंगोलले २ विकेट लिईन् ।

महिला क्रिकेटमा ९ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
समूह 'ए' मा एपीएफ क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश,सुदुरपश्चिम प्रदेश र बागमती प्रदेश रहेको छ ।
समूह 'बी' मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश-१ र लुम्बिनी प्रदेश रहेको छ ।
महिला क्रिकेट असोज १ कात्तिकसम्म हुनेछ । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भईसकेको छ ।