इटहरी । प्रदेश खेलकुद विकास बोर्ड प्रदेश नम्बर एकले शुक्रबार नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि हुन गण्डकी प्रदेश प्रस्थान गर्न लागेका महिला क्रिकेट टोलीको बिदाइ गरेको छ ।
खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले खेलाडीलाई जितको शुभकामना सहित बिदाइ गरेका हुन ।
पूर्व निर्धारित तालिका अनुसार नवौं खेलकुद असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म हुनेछ ।
तर, महिला क्रिकेट भने असोज २३ बाट सुरु हुनेछ । पुरुष क्रिकेट भने यस अघि नै आयोजना भइसकेको छ ।
बिदाइ कार्यक्रममा खेलकुद विकास बोर्डका सदस्य शैलेस कुमार विष्ट, पुर्वान्चल खेलकुद विकास समितिका टंक कटेल लगायतको सहभागिता रहेको थियो ।
प्रदेशबाट शनिबार ह्यान्डबल र फेन्सिङका ५९ जना खेलाडीहरु पोखरा जाने कार्यक्रम रहेको छ ।
शनिवारबाटै पोखरामा प्रदेश एक खेलकुद विकास बोर्डको सचिवालय समेत खडा हुने सदस्य सचिव वाग्लेले बताए ।