काठमाडौं । सन् २०२४ मा आयोजना हुने आईसीसी यू-१९ विश्वकप क्रिकेटको छनोट खेल्ने सबै राष्ट्रको टुंगो लागेको छ।
यू-१९ विश्वकप छनोटमा नेपालले समेत सहभागिता जनाउने छ । छनोटमा नेपालले डिभिजन टूबाट आएका २ टोलीसहित ६ टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
डिभिजन टूमा बहराइन,भुटान,साउदी अरब,ओमान,कतार,हङकङ,सिङ्गापुर र थाईल्याण्ड रहेका थिए । यी आठ टिमबाट शीर्ष दुईमा रहेका सिङ्गापुर र हङकङ डिभिजन वानमा प्रवेश गरेका छन् ।
यी टिमले डिभिजन वानमा रहेका टिमसँग प्रतिस्पर्धा गर्नेछ । डिभिजन वानमा नेपाल, यूएई, मलेसिया र कुवेत रहेका छन् । यस डिभिजनबाट शीर्ष एक टोलीले विश्वकपमा स्थान बनाउने छन् ।
आयोजनाको स्थल तय नभएको यस विश्वकपमा १६ मुलुकले सहभागीता जनाउने छन् । प्रतियोगितामा सहभागी १६ टिममध्ये ११ टिम छनोट भईसकेका छन् । बाँकी ५ टोली भने छनोटबाट आउने छन् ।
यसै वर्ष वेस्ट इन्डिजमा भएको यू-१९ विश्वकपमा शीर्ष ११ मा रहेका टिम आगामी विश्वकपका लागि सिधै छनोट भईसकेका छन् ।
छनोट हुने ११ मुलुकमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, इंग्ल्याण्ड, अस्ट्रेलिया, अफगानिस्तान, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, आयरल्याण्ड र जिम्बावे रहेका छन् ।
५ टोली भने एसिया, अफ्रिका, युरोप, अमेरिका र इस्ट एसिया प्यासिफिकबाट समान १/१ टिम रहनेछन् ।
नेपालले भने ६ टोली रहेको एसिया क्षेत्रको डिभिजन वान जित्नु पर्ने हुन्छ । यस डिभिजन वानमा ६ टोली रहने एसिया डिभिजन वान जितेमा नेपालले विश्वकपमा स्थान बनाउने छ ।
सन् २०१६ पछि नेपालले ३ संस्करणको विश्वकप खेलेको छैन । नेपालले हालसम्म ७ पटक विश्वकपमा सहभागिता जनाईसकेको छ ।