काठमाडौं । जिम्बावे क्रिकेट टिमका ब्याटिङ प्रशिक्षक लान्स क्लुसनरले पदबाट राजीनामा दिएका छन् ।
दक्षिण अफ्रिकाका पूर्व अलराउण्डरले जिम्बावे क्रिकेटसँगको सहमतिमा आफ्नो पदबाट राजीनामा दिएका हुन् ।
जिम्बावे अक्टोबर १६ देखि अष्ट्रेलियामा सुरु हुने आईसीसी टी–ट्वान्टी विश्वकपको तयारीमा तीब्र रुपले लागिरहेको समयमा क्लुसनरको राजीनामा आएको हो ।
जिम्बावे क्रिकेटले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'जिम्बावे क्रिकेटसँग आपसी सम्झौता भएपछि क्लुसनरले सिनियर पुरुष टोलीको ब्याटिङ प्रशिक्षकको भूमिका छोड्दैछन्।'
सन् २०१६ देखि २०१८ सम्म ब्याटिङ प्रशिक्षकको जिम्मेवारी सम्हालेका क्लुसनरले यसै वर्ष मार्चबाट पुनः टोलीमा रहेका थिए ।
जिम्बावे विश्वकपको पहिलो राउन्डको समूह 'बी' मा रहेको छ । यस समूहमा जिम्बाबेसँगै आयरल्याण्ड, वेष्ट इन्डिज र स्कटल्याण्ड रहेका छन् ।
जिम्बावेले अक्टोबर १७ मा आयरल्याण्डविरुद्ध खेल्दै विश्वकप सुरुआत गर्नेछ ।