काठमाडौं । न्युजिल्याण्डमा जारी त्रिदेशीय टी-ट्वान्टी सिरिज अन्तर्गतको पहिलो खेलमा पाकिस्तानले बंगलादेशलाई हराएको छ ।
क्राइसचर्चमा शुक्रबार भएको पहिलो खेलमा पाकिस्तानले बंगलादेशलाई २१ रनले हराएको हो ।
पाकिस्तानले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४६ रन मात्र बनायो ।
बंगलादेशका लागि यासिर अलिले अविजित ४२ तथा लिन्टन दासले ३५ रन बनाए । आफिफ हुसेनले २५ तथा सविर रहमानले १४ रन बनाए । मेहेदी हसनले १० तथा कप्तान नुरुल हसनले ८ रन बनाए ।
पाकिस्तानका लागि मोहम्मद वासिमले ३ तथा मोहम्मद नवाजले २ विकेट लिए । शाहनवाज दाहानी,हरिस राउफ र सादव खानले समान १/१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो ।
उसका लागि ओपनर मोहम्मद रिजवानले अविजित ७८ रनको अर्धशतकीय इनिङ खेले । शान मसुदले ३१ तथा कप्तान बाबर अजामले २२ रन बनाएका थिए । इफ्तिखर अहमदले १३ तथा मोहम्मद नवाजले अविजित ८ रन बनाएका थिए ।
बंगलादेशका लागि तक्सिन अहमदले २ तथा हसन महमुद,मेहेदी हसन र नसुम अहमदले समान १/१ विकेट लिए ।
सिरिज अन्तर्गत दोस्रो खेलमा शनिबार पाकिस्तान र घरेलु टोली न्युजिल्याण्ड खेल्ने छन् ।
