काठमाडौं । नेपाल टी-ट्वान्टी लिगको पहिलो संस्करण आगामी मंसिर २६ गतेबाट सुरु हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार विज्ञप्ति निकाल्दै पहिलो संस्करणको प्रतियोगिता मंसिर २६ देखि पुस १६ गतेसम्म आयोजना हुने जनाएको छ ।
क्यानले लिगको नयाँ मितिलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यता दिएको समेत जनाएको छ ।
क्यानले पहिलो पटक आयोजना गर्न लागेको प्रतियोगितामा ६ टोलीले खेल्नेछन् । प्रतियोगितामा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी अल स्टार र फार वेस्टर्नले प्रतिस्पर्धा गर्ने छन् ।
यस अघि प्रतियोगिता असोज ८ बाट कात्तिक ५ सम्म हुने तालिका थियो । तर, सुरक्षाको कारण क्यानले मंसिरसम्मका लागि सारेको थियो।
प्रतियोगिताका लागि क्यानले ड्राफ्ट गरिसकेको छ । जसबाट सहभागी ६ टोलीले मार्की र विदेशी सहित सबै खेलाडी अनुबन्ध गरिसकेको छ ।