काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेबिरुद्ध इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । बलात्कार आरोपमा सम्पर्क विहिन अवस्थामा रहेका सन्दीपविरुद्ध नेपाल पुलिसको आग्रहमा इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको हो ।
नेपाल प्रहरीले इन्टरपोलले सन्दीपलाई फरार सूचीमा राख्दै शुक्रबार डिफ्युजन नोटिस जारी गरेको बताएको छ । इन्टरपोलको नोटिससँगै १ सय ९५ देशका प्रहरीले सन्दीपलाई पक्राउ गरेर नेपाल प्रहरीलाई बुझाउन सक्नेछन् । नोटिससँगै सन्दीप इन्टरपोलको सदस्य राष्ट्रका प्रहरीको फरार सूचिमा परेका छन् ।
नाबालिका किशोरीलाई बलात्कार गरेको आरोपमा सन्दीपविरुद्ध भदौ २२ गते प्रहरीमा उजुरी परेको थियो । घटनाको भोलिपल्ट उनी केन्याविरुद्धको सिरिज खेल्न प्रस्थान गरेका थिए । श्रृङ्खला लगत्तै उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेस्ट इन्डिज पुगेका थिए ।
नेपाल प्रहरीको अनुरोधमा अदालतले सन्दीपलाई पक्राउ गरेर अनुसन्धान गर्न अनुमती दिएको थियो । प्रहरीले फरार सूचिमा राख्दै सन्दीपलाई नेपाल ल्याउने प्रक्रिया अघि बढाएको थियो ।
लगत्तै सन्दीपले सीपीएल छाडेर नेपाल फर्किने बताएका थिए । उनले आफु निर्देश रहेको दाबी सहित नेपाल फर्किएर कानुनी लडाँई लड्ने बताएका थिए । नेपाल फर्किएर कानुनी लडाँई लड्ने घोषणा गरेका सन्दीप पछिल्लो समय बेपत्ता छन् ।
अभिभावक संस्था क्यानलाई राम्रो कानुनी परामर्शदाता खोजिदिन आग्रह गरेका सन्दीप अहिले सबैसँग सम्पर्क विहिन भएर वेपत्ता भएका छन् । उनले आईतबार मात्र आफु मानसिक रुपमा अस्वस्थ भएको बताउँदै फेसबुकमार्फत चाँडै नेपाल फर्कने बताएका थिए ।
आफुलाई निर्दोश रहेको बताउने सन्दीप सम्पर्क विहीन भएपछि उनीमाथि लागेको आरोपमा बल पुगेको छ । उनी बेपत्ता अवस्थामै रहेर घटनालाई मिलाउन कोशिश गरिरहेको आशंका गरिएको छ ।
स्टारडमको दुरुपयोग गरि नाबालिकामाथि बलात्कार गरेको आरोपले क्रिकेट करियरको सफलताको शिखरमा पुगेका सन्दीपलाई एकैपटक रसातलमा पुर्याईदिएको छ ।