काठमाडौं । अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप आगामी १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म आयोजना हुँदैछ ।
अष्ट्रेलियाको विभिन्न सात शहरमा आयोजना हुने विश्वकपमा सहभागी हुने सबै १६ टोलीको टुंगो लागिसकेको छ ।
कुनै खेलाडी र राष्ट्रका लागि सबैभन्दा ठुलो प्रतियोगिता विश्वकप खेल्ने सपना हुन्छ । तर, विश्वकप खेल्ने सबैको सपना पूरा नहुन सक्छ ।
हालसम्म २१ देशले मात्र टी-ट्वान्टी विश्वकप खेल्ने अवसर पाएका छन् ।
यस्तोमा हामी हालसम्म टी-ट्वान्टी विश्वकपमा एकपटक मात्र छनोट हुने तीन देशको चर्चा गर्दैछौं ।
१. केन्या
देशमा राजीतिक अस्थिरता र एकैपटक धेरै खेलाडीले संन्यास लिएका कारण केन्याको क्रिकेटमा ठूलो असर पर्यो । जसले गर्दा हाल उसले विश्व क्रिकेटमा खासै नाम कमाउन सकेको छैन ।
अहिलेसम्म केन्याले एकपटक मात्र टी-ट्वान्टी विश्वकप खेलेको छ । उसले पहिलो संस्करणको विश्वकपमा भाग लिन सफल भएको थियो । सन् २००७ मा भएको सो विश्वकपको पहिलो चरणमा केन्याले दुई खेल खेलेको थियो । ऊ दुवै खेलमा पराजित हुँदै पहिलो चरणबाटै बाहिरियो ।
२. नेपाल
नेपालले सन् २०१४ को टी-ट्वान्टी विश्वकप खेलेको थियो । बंगलादेशमा भएको सो विश्वकपको पहिलो चरणमा नेपालले तीन खेल खेल्यो । जसमा नेपालले राम्रो प्रदर्शन गर्यो । तीनमध्ये दुई खेलमा जित निकालेको नेपाल नेट रनरेटका कारण दोस्रो चरणमा स्थान बनाउन सकेको थिएन ।
अफगानिस्तान र हङकङलाई हराएको नेपाल बंगलादेशसँग पराजित भएको थियो । डेब्यू विश्वकपमै राम्रो प्रभाव छाडे पनि त्यसयता नेपालले छनोट पार गर्न सकेको छैन ।
३. पपुवा न्यूगिनी (पीएनजी)
पीएनजीले पनि अहिलेसम्म एकपटक मात्र टी-ट्वान्टी विश्वकप खेल्न पाएको छ । उसले गत संस्करणको विश्वकप खेलेको थियो । पीएनजीले आफ्नो डेब्यू विश्वकपमा सन्तोषजनक प्रदर्शन गर्न सकेन । ऊ पहिलो चरणमा तीन खेलमै पराजय बेहोर्दै घर फर्किएको थियो ।
यूएई र नामिबिया दोस्रोपटक विश्वकप खेल्दै छन् ।
यूएई छनोटमा नेपाललाई हराउँदै दोस्रोपटक विश्वकपमा पुगेको हो । नामिबियाले गत संस्करणमा राम्रो प्रदर्शन गरेकाले निरन्तरता पायो । नामिबियाले २०२१ को संस्करणमा विश्वकपमा डेब्यू गर्यो । उसले डेब्यू संस्करणमै दोस्रो चरण खेल्न सफल भयो । यूएई भने हालसम्म विश्वकपको दोस्रो चरणमा प्रवेश गर्न सकेको छैन ।