काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) महिला क्रिकेट अम्पायर उत्पादनका लागि उदासिन देखिएको छ ।
नेपालमा करिब ७० पुरुष क्रिकेट अम्पायर रहेका छन् । तर, नेपालमा एकजना पनि महिला अम्पायर छैन ।
क्यानले महिला क्रिकेट अम्पायर उत्पादनका लागि कुनै योजना बनाएको छैन ।
क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले महिला अम्पायर क्यानले बनाउन नचाहेको भन्दा पनि यसमा कसैले चाहना नदेखाएको बताए ।
क्यानको तथ्यांकमा महिला अम्पायरको संख्या शुन्य रहेको भएपनि चाडै महिला अम्पायर देख्न सकिने मल्लले बताए ।
'महिलाहरुमा पारिवारिक जिम्मेवारी लगायतका कुराले यसमा लाग्ने समय नै निकाल्न सक्दैनन्,' मल्लले खेलपाटीसँग भने, 'क्रिकेटलाई नै व्यवसाय बनाएर लाग्ने महिलाको सँख्या वृद्धि हुँदै गएकाले अम्पायरको रुपमा पनि महिला आउन धेरै समय लाग्ने छैन ।'
विश्वका धेरै राष्ट्रमा महिलाहरुको प्रतियोगितामा महिला अम्पायरको उपस्थिति हुने गर्छ । तर, नेपालमा भने महिला क्रिकेटको त्यो देखिएको छैन ।
नेपालको पहिलो ब्याचका महिला क्रिकेटरहरु अम्पायर क्षेत्रमा आउने सम्भावना रहेको कार्यवाहक सचिव मल्लले बताए ।
'पहिलो ब्याचका महिला क्रिकेटर सन्यास लिदै छन् । अब भने हामीसँग यसको लागि चाहना राख्नेको संख्या सुरु हुनेछ,' उनले भने ।