काठमाडौं । पाहुना टोली इंग्ल्यान्डले पाकिस्तानविरुद्धको तेस्रो टी-ट्वान्टी अन्तराष्ट्रियमा जित हात पारेको छ ।
कराँचीमा शुक्रबार राति भ्रमणकारी टोलीले पाकिस्तानलाई ६३ रनले पराजित गरेको हो ।
यस जितसँगै इंग्ल्यान्डले घरेलु टोलीविरुद्धको ७ खेलको सिरिजमा २-१ को अग्रता बनाएको छ ।
इंग्ल्यान्डले दिएको २ सय २२ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रन मात्र बनायो ।
पाकिस्तानका लागि शान मसुदले अविजित ६६ रनको अर्धशतकीय ईनिङ खेले । खुसदिल शाहले २९ तथा मोहम्मद नवाजले १९ रन बनाए ।

पाहुना टोलीका लागि मार्क उडले ३ तथा आदिल रसिद २ विकेट लिए । साम करन र रिच टोप्लेले समान १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको पाहुना टोलीले २० ओभरमा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको थियो । भ्रमणकारी टोलीका लागि बेन डुकेट र ह्यारी ब्रुक्सले अर्धशतकीय ईनिङ खेले ।
डुकेटले ४२ बलमा ७० रन तथा ब्रुक्सले ३५ बलमा ८१ रन बनाए । दुबै खेलाडी अविजित रहेका थिए । विल ज्याक्सले २२ बलमा ४० रन तथा डेभिड मलानले १४ रन बनाए ।
घरेलु टोलीका लागि उस्मान कादिरले २ तथा मोहम्मद हुसाईनले १ विकेट लिए ।
दुई टोलीबीचको चौथो टी-ट्वान्टी आइतबार हुनेछ ।
