काठमाडौं । घरेलु टोली भारतले अष्ट्रेलियाविरुद्धको दोस्रो टी-ट्वान्टी खेल जितेको छ ।
नागपुरमा शुक्रबार राति भएको खेलमा भारत ६ विकेटले विजयी भएको हो ।
यस जितसँगै ३ खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा भारतले १-१ को बराबरी गरेको छ ।
पाहुना टोलीले दिएको ९१ रनको लक्ष्य भारतले ७ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
भारतका लागि कप्तान रोहित शर्माले २० बलमा अविजित ४६ रन बनाए । विराट कोहलीले ११ तथा केएल राहुलले १० रन बनाए । दिनेश कार्तिकले अविजित १० रन बनाए ।
भ्रमणकारी टोलीका लागि एडम जाम्पाले ३ विकेट लिए ।

त्यस अघि ब्याटिङ गरेको पाहुना टोलीले निर्धारित ८ ओभरमा ५ विकेट गुमाएर ९० रन बनाएको थियो । वर्षाका कारण खेल ८ ओभरमा घटाईएको थियो ।
अष्ट्रेलियाका लागि म्याथ्यु वेडले २० बलमा अविजित ४३ रन बनाए । कप्तान आरोन फिन्चले १५ बलमा ३१ रन तथा स्टेभन स्मिथले ८ रन बनाए ।
भारतका लागि अक्षर पटेलले २ तथा जसप्रित बुमराहले १ विकेट लिए ।
दुई टोलीबीचको तेस्रो तथा अन्तिम टी-ट्वान्टी आइतबार हुनेछ ।
