काठमाडौं । पहिलो टी-ट्वान्टी अन्तराष्ट्रियमा इंग्ल्यान्डले पाकिस्तानलाई हराएको छ ।
कराचीमा मंगलबार राति इंग्ल्यान्डले पाकिस्तानलाई ६ विकेटले हराएको हो ।
यस जितसँगै पाकिस्तान भ्रमणमा रहेको इंग्ल्यान्डले ७ खेलको सिरिजमा १-० को अग्रता लिएको छ ।
इंग्ल्यान्डले १७ वर्षपछि पाकिस्तानको भ्रमण गरेको हो । इंग्ल्यान्डले पछिल्लो पटक सन् २००५ मा पाकिस्तानको भ्रमण गरेको थियो ।
पाकिस्तानले दिएको १ सय ५९ रनको लक्ष्य इंग्ल्यान्डले १९ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
इंग्ल्यान्डका एलेक्स हालेसले ५३ रनको अर्धशतकीय इनिङ खेले । ह्यारी ब्रुक्सले अविजित ४२ रन बनाए ।
बेन डुकेटले २१ तथा डाविड मालनले २० रन जोडे ।
पाकिस्तानका लागि उस्मान कादिरले २ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो ।
पाकिस्तानका मोहमद रिजवानले ६८ रनको अर्धशतकीय इनिङ खेले ।
कप्तान बाबर आजमले ३१ रन जोड्दा इफ्तिखर अहमेदले २८ रन बनाए ।
इंग्ल्यान्डका लुक उडले ३ तथा आदील राशिदले २ विकेट लिए ।