काठमाडौं । नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान रित गौतमले न्युजिल्याण्डमा आफुले पाउने अनुभवले नेपाली क्रिकेटलाई सहयोग मिल्ने बताएका छन् ।
न्युजिल्याण्ड जाने तयारीमा जुटेका रितले न्युजिल्याण्डमा आफुलाई समेत ठुलो अनुभव मिल्ने बताए ।
न्युजिल्याण्डको घरेलु क्रिकेट प्रतियोगिता खेल्न उनी केही सातामा त्यस तर्फ जाने छन् ।
'१७ अक्टोबरबाट सो प्रतियोगिता सुरु हुनेछ । प्रतियोगिता ६ महिनासम्म चल्ने छ। ६ महिना म उतै हुनेछु,' रितले खेलपाटीसँग भने, 'यस प्रतियोगिताबाट आफुलाई ठुलो अनुभव मिल्ने छ। मैले पाएको अनुभवले नेपाली क्रिकेटलाई नै सहयोग मिल्नेछ।'
रितलाई अकल्याण्डको गिजर सिटी क्रिकेट क्लबले घरेलु प्रतियोगिताका लागि अनुबन्ध गरेको छ ।
गिजर सिटी क्रिकेट क्लबमा न्युजिल्याण्डका तीव्र गतिका बलर ट्रेन्ट बोल्ड लगायतका खेलाडी रहेका छन् ।
न्युजिल्याण्ड जानका लागि भिसाको प्रकृया अन्तिम चरणमा पुगेको समेत उनले बताए।
नेपालका लागि उमेर समूहको क्रिकेटमा दुई अन्तराष्ट्रिय शतक कीर्तिमान रितको नाममा रहेको छ । सन् २०१९ मा रितले नेपालको यू-१९ टिमको कप्तानी गरेका थिए । सोही प्रतियोगितामा सिंगापुरविरुद्ध उनले शतक प्रहार गरेका थिए।
यू-१६ मा २०१७ मा उनले म्यानमारविरुद्ध शतक बनाएका थिए ।
रितले नेपालको घरेलु प्रतियोगिता एपीएफको टोलीबाट खेल्ने गर्छन् ।