काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेटमा स्वर्ण पदक जितेको छ ।
कीर्तिपुरस्थित टियु मैदानमा शुक्रबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ८ विकेटले पराजित गर्दै पुलिसले स्वर्ण जितेको हो ।
त्रिभुवन आर्मी क्लबले दिएको १ सय ४ रनको लक्ष्य पुलिसले ६ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।
उसका लागि कुशल भुर्तेलले १९ बलमा ३ चौका र ६ छक्काको मद्दतले ५१ रनको अर्धशतकीय ईनिङ खेले । सुनिल धमलाले १७ बलमा २ चौका र ४ छक्काको मद्दतले ४२ रन बनाए ।
आर्मीका लागि जितेन्द्र मुखिया र सुसन भारीले समान १/१ विकेट लिए ।

त्यस अघि पहिला ब्याटिङ गरेको आर्मीले ८ ओभरमा ७ विकेट गुमाउँदै १ सय ३ रन बनाएको थियो । वर्षाको कारण खेल ८ ओभरमा झारिएको थियो ।
उसका लागि कप्तान विनोद भण्डारीले १४ बलमा ३ चौका र ४ छक्काको मद्दतले ४० रन बनाए । रोहित पौडेलले १० बलमा ४ छक्काको मद्दतमा २८ रन बनाए ।
कुशल मल्लले १३ तथा भिम सार्किले ११ रन बनाए ।
पुलिसका लागि ललित राजवंशी तथा गुल्सन झाले समान २/२ तथा कप्तान दीपेन्द्र सिंह ऐरी र रशिद खानले समान १/१ विकेट लिए ।
यस जितसँगै पुलिसले आर्मीसँग समूह चरणमा व्यहोरेको हारको बदला लिएको छ । पुलिसले नवौंमा पहिलो स्वर्ण समेत जितेको छ ।
फाइनल गुमाएपछि आर्मीले भने रजत पदकमा चित्त बुझाएको छ ।

प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले कास्य पदक जितेको छ । वर्षाका कारण खेल नभएपछि टसमा सुदुरले एनआरएनए स्पोर्ट्स एकेडेमीलाई पराजित गरेको हो ।
गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भएको हो ।
प्रतियोगितामा तीन विभागिय,सात प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागीता रहेको थियो ।