काठमाडौं । सुदुरपश्चिम प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेटमा कास्य पदक जितेको छ ।
कीर्तिपुरस्थिति टियु मैदानमा शुक्रबार बिहान हुनु पर्ने खेल निरन्तरको वर्षाका कारण खेल्न सम्भव नभए पश्चात टस गरेर खेलको निर्णय लिईएको हो ।
पहिला टस जितेर एनआरएनए स्पोर्ट्स एकेडेमीविरुद्ध सुदुरपश्चिमले ब्याटिङ गर्ने निर्णय लिएको थियो । तर त्यस पश्चातको निरन्तरको वर्षाले खेल हुन सकेन ।
खेल हुन नसके पश्चात पुनः भएको टसमा सुदुरपश्चिम प्रदेशले एनआरएनए स्पोर्टस एकेडेमीविरुद्ध टस जितेपछि सुदुरपश्चिम विजयी भएको हो । सुदुरपश्चिमले जितका साथ काँस्य पदक जितेको छ ।
एनआरएनए चौथो स्थानमा रहेको हो ।
स्वर्णका लागि कीर्तिपुरस्थित टियु मैदानमा हुने फाइनलमा दुई विभागीय टोलीहरु त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र पुलिसबीचको खेल दिउँसो १ः१५ बाट सुरु हुनेछ ।
आर्मी र सदुरपश्चिम प्रदेशबीच पहिलो सेमिफाइनल रद्द भएपछि समूह चरणको उत्कृष्ट नतिजाका आधारमा आर्मी फाइनलमा पुगेको हो । आर्मी समूह 'ए' को विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । सुदुरपश्चिम समूह 'बी' को उपविजेता बनेको थियो ।
गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भईरहेको हो ।
प्रतियोगितामा तीन विभागिय,सात प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागीता रहेको थियो । सहभागी ११ टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो ।