काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगिताको फाइनल खेल आज शुक्रबार हुँदैछ ।
कीर्तिपुरस्थित टियु मैदानमा हुने फाइनलमा दुई विभागीय टोलीहरु त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र पुलिसबीचको खेल दिउँसो १:१५ बाट सुरु हुनेछ ।
आर्मी र सदुरपश्चिम प्रदेशबीच पहिलो सेमिफाइनल रद्द भएपछि समूह चरणको उत्कृष्ट नतिजाका आधारमा आर्मी फाइनलमा पुगेको हो । आर्मी समूह 'ए' को विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । सुदुरपश्चिम समूह 'बी' को उपविजेता बनेको थियो ।
यता, वर्षार्षाले प्रभावित दोस्रो सेमिफाइनल खेलमा एनआरएनए स्पोर्टस एकेडेमीलाई पराजित गर्दै पुलिसले आर्मीसँगको भेट पक्का गरेको हो ।
शुक्रबार नै तेस्रो स्थानका लागि एनआरएनए र सुदुरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ । यस खेल बिहान ९:१५ बजे सुरु हुनेछ।
गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भईरहेको हो ।
प्रतियोगितामा तीन विभागिय,सात प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागीता रहेको थियो । सहभागी ११ टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो ।