काठमाडौं । नेपाल पुलिस क्लब नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
टियु क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा एनआरएन स्पोर्टस एकेडेमीलाई १३ रनले पराजित गर्दै पुलिस फाइनल पुगेको हो ।
पुलिसले दिएको १ सय ११ रनको लक्ष्य पछ्याएको एनआरएनए ८ ओभरमा ३ विकेट गुमाएर ९७ रन बनायो ।
उसका लागि कप्तान सुनाम गौतमले २५ बलमा ४ छक्का र २ चौकाको मद्दतले ४६ रन बनाए । सागर पुनले २० बलमा ३७ रन बनाए ।
पुलिसका लागि योगेन्द्र सिंह कार्कीले २ तथा पवन सरार्फले १ विकेट लिए ।
त्यस अघि पहिला ब्याटिङ गरेको पुलिसले ८ ओभरमा ६ विकेट गुमाउँदै १ सय १० रन बनाएको थियो । उसका लागि आरिफ शेखले १५ बलमा ३ छक्का ३ चौकाको मद्दतले ३६ तथा कप्तान दीपेन्द्र सिंह ऐरीले १२ बलमा २५ रन बनाए ।
करण केसीले ७ बलमा १८ तथा कुशल भुर्तेलले ५ बलमा १२ रन बनाए ।
एनआरएनएका लागि दिवास गिरीले २ तथा दिपक क्षेत्री,कप्तान सुनम गौतम र दिनेश खरेलले समान १/१ विकेट लिए ।
अब पुलिसले फाइनलमा त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ ।
पहिलो सेमिफाइनल रद्द भएपछि आर्मी फाइनल पुगेको हो । समूह 'ए' को विजेताको हैसियतमा आर्मी फाइनल पुगेको हो ।
समूह 'बी' को उपविजेता रहेकोले सुदरपश्चिम प्रदेश भने बाहिरिएको थियो ।
अब एनआरएनएले तेस्रो स्थानका लागि शुक्रबार सुदुरपश्चिम प्रदेशसँग खेल्नेछ ।
गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भईरहेको हो ।