एजेन्सी । फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा स्पेनले इरानविरुद्ध सुरुवाती अग्रता बनाएको छ ।
कजानस्थित कजान एरिनामास्पेनलाई अग्रता दिलाउन डिएगो कोष्टाले गोल गरे । खेलको ५४ औं मिनेटमा कोष्टाले गोल गरेका हुन् । उनको यो विश्वकपमा तेस्रो गोल हो ।
यसअघि पहिलो हाफमा दुवै टोलीले पाएको मौकामा गोल गर्न नसक्दा बराबरी खेलेका थिए । आज दुवै टोली ३ अंक जोड्ने लक्ष्यसहित मैदान उत्रिएका हुन् ।
समूह 'बी' मा रहेको स्पेनले पहिलो खेलमा पोर्चुगलसँग ३ - ३ गोलको बराबरी खेलेको थियो । स्पेनलाई दोस्रो चरणमा पुग्न जित्नै पर्ने दबाब रहेको छ । इरानविरुद्ध स्पेन ३ अंकको लागि मैदान उत्रिएका छन् ।
यता, इरान पहिलो खेलमा मोरक्कोविरुद्ध निकालेको जितले निकै आत्मविश्वासका साथ मैदान उत्रेका छन् । इरानले मोरक्कोलाई १ - ० ले हराएको थियो । स्पेनविरुद्ध जित वा बराबरी खेल्दै इरान दोस्रो चरणमा पुग्ने सम्भावना कायम राख्न चाहान्छ ।
यो समूहमा पोर्चुगलले ४ अंक जोडेको छ । उसले आज भएको खेलमा मोरक्कोलाई १ - ० ले हराएको थियो । लगातार दुई खेल गुमाएको मोरक्को प्रतियोगिताबाट बाहिरिने पक्का जस्तै छ ।
पाँचौ पटक विश्वकप खेलिरहेको इरानकोले अघिल्ला विश्वकपमा युरोपियन राष्ट्रलाई हराउन सकेको छैन । अघिल्ला ६ भेटमा ५ खेल गुमाएको इरानले १ बराबरी खेलेको छ । यता, स्पेन एसियन राष्ट्रविरुद्ध अपराजित रहेकोछ ।