काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का आठ केन्द्रिय सदस्यले एन्फाको अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नविन पाँडेको बर्खास्तीलाई कार्यसमिति बैठकमा एजेन्डाको रुपमा राख्न माग गरेका छन् ।
एन्फाका उपाध्यक्ष दीपक खतिवडा र विराटजंग शाहीसहित आठ सदस्यले शुक्रबार पाँडेको बर्खास्तीलाई एजेन्डाको रुपमा समावेश गर्न राख्न माग गरेका हुन् । उनीहरुले मागसहित एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङलाई पत्र पठाएका हुन् ।
'यस अघिको बर्खास्तीको पत्रलाई एजेन्डाको रुपमा राख्न माग गर्दै पत्र पठाएका छौँ,' उपाध्यक्ष दीपकले भने ।
यस अघि उनीहरुले साउन १३ गते पाँडेको बर्खास्तीको माँग गर्दै एन्फालाई ज्ञापनपत्र बुझाएका थिए ।
पाँडेको बर्खास्तीको माग गर्नेमा खतिवडा र शाहीसँगै केन्द्र सदस्य रविन चन्द ठकुरी, पुरुषोत्तम थापा, महेन्द्र क्षेत्री, सरिला श्रेष्ठ, रमेश व्यञ्जनकार र विकास नारायण श्रेष्ठ छन् ।
एन्फाको कार्यसमिति बैठक साउन २६ गते बस्दैछ ।
यस अघि साउन ५ गते डाकिएको कार्यसमितिको बैठक एजेन्डामा प्रवेश नगरी अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।