काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक साउन २६ गते बस्ने भएको छ ।
एन्फाले मंगलबार एक विज्ञप्ति निकाल्दै कार्यसमिति बैठक साउन २६ गते बस्ने जनाएको छ ।
बैठक सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहान १० बजेबाट सुरु हुनेछ ।
यस अघि साउन ५ गते डाकिएको कार्यसमितिको बैठक एजेन्डामा प्रवेश नगरी अनिश्चितकालका लागि स्थगित गरिएको थियो । एन्फाले कार्यसमिति बैठकका लागि १८ एजेन्डा तय गरिसकेको छ ।
लामो रस्साकस्सीपछि पुरानै एजेण्डालाई अघि सार्दै अध्यक्ष पंकजबिक्रम नेम्वाङले बैठक बोलाएका हुन् । तर कार्यसमितिका संस्थापत पक्ष भन्दा बाहिरका पदाधिकारीले पदाधिकारी र कर्मचारी नियुक्ति भन्दा घरेलु लिग सहितका क्यालेन्डरको एजेण्डामा सुरुवातमा छलफल हुनुपर्ने माग अघि सारेका छन् ।
कार्यसमिति सदस्य टिका लामाले घरेलु लिग सहितका कार्यक्रमको विषयमा छलफल सकेरमात्र अन्य एजेण्डामा प्रवेश गरिने खेलपाटीलाई बताए ।
उनले ए, बी र सी डिभिजन लिगको क्यालेन्डर, स्थगित अवस्थामा रहेको महिला लिग, फ्रेन्चाइज फुटबल एनएसएलको विषयमा निर्णय र विशेष साधारण सभाको एजेण्डामा सुरुवातमा छलफल हुने बताए ।
लामाले अन्तराष्ट्रिय सम्बन्ध विगाग प्रमुखमा नियुक्त गरिएको नविन पाँडेको नियुक्तिको सन्दर्भमा समेत छलफल हुने उल्लेख गरेका छन् ।