काठमाडौं । भक्तपुर जिल्ला क्रिकेट संघले नेपाल टी-ट्वान्टी लिगको घोषणाले संघ उत्साहित भएको जनाएको छ ।
संघले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै नेपाल टी-ट्वान्टी लिगको घोषणाले संघ र खेलाडीहरु उत्साहित भएको जनाएको छ।
'नेपाली क्रिकेटलाई नेपाल क्रिकेट संघले व्यवसायीकरण गर्नुपर्छ साथै संघ र मातहतका प्रादेशीक तथा जिल्ला क्रिकेट संघहरु,खेलाडीहरु,प्रशिक्षकहरु,अम्पाएर र स्कोररहरु,अन्य प्राविधिक जनशक्तिहरु लाभान्वित हुनुपर्छ भन्ने हाम्रो धेरै अघि देखिको धारणा रहेको थियो,' संघले विज्ञप्तीमा भनेको छ, 'नेपाल टी-ट्वान्टीको सुरुले यस पनि सुरुवात भएको छ ।'
नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको लिग असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुनेछ । पहिलो संस्करणको प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै संघले कार्यसमितिकै असन्तुष्ट केहि पदाधिकारीहरुद्धारा राष्ट्रिय खेलकुद परिषदमा लिग रोक्नका लागि आवेदन दिएकोमा खेद व्यक्त गरेको छ ।
'क्रिकेटको हित विपरित , नेपाली क्रिकेटको विकास नचाहने पक्षहरुबाट यसको विरोधीहरु प्रति खेद प्रकट गर्दछौ,' संघका अध्यक्ष रुपक रन्जितद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।