काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालमा तय भएको महिला साफ च्याम्पियनसिप फुटबल आयोजनाका लागि कमिटि गठन गरेको छ ।
एन्फाले शुक्रबार वरिष्ठ उपाध्यक्ष बीरबहादुर खड्काको संयोजकत्वमा १८ सदस्यीय आयोजक कमिटि गठन गरिएको जनाएको छ । अन्य उपाध्यक्षसहित कार्यसमितिका सदस्यहरु समितिको सदस्य हुनेछन् ।
यस्तै रविन्द्र चन्दलाई साफ आयोजनाको भेन्यु म्यानेजर,स्थानीय आयोजकको संयोजकमा विजय घले र सुरक्षा प्रमुखमा दिनेश ब्यन्जनकारलाई नियुक्त गरिएको छ ।
एन्फाले सन्जिब शिल्पकारले क्षेत्रीय प्रतिस्पर्धाको मार्केटिङ, प्रसारण र डिजिटल अधिकार समितिको संयोजन गर्ने जनाएको छ ।
एक हप्ता सरेको महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ ।
यस अघि साफ च्याम्पियनसिप भदौ १३ देखि २५ सम्म आयोजना हुने तालिका थियो ।
बंगलादेशको ढाकामा बसेको साफको कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको थियो ।
प्रतियोगितामा नेपाल, भारत, भुटान, बंगालदेश, माल्दिभ्स, श्रीलंका र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।
नेपालले यस अघि पाँचौं संस्करणको महिला साफ आयोजना गरेको थियो ।
विराटनगरमा आयोजना भएको साफको उपाधि भारतले जितेको थियो । नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।