काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक बिहीबार बस्ने भएको छ ।
एन्फाले मंगलबार सूचना निकाल्दै बैठक बिहीबार बस्ने जनाएको छ । एन्फा कप्लेक्स सातदोबाटोमा बस्ने बैठक बिहान ७ बजे सुरु हुनेछ ।
यस अघि बैठक सोमबारका लागि डाकिएको थियो ।
तर, एन्फाका अध्यक्ष पंकज बिक्रम नेम्वाङ बिरामी भएपछि बैठक स्थगित गरिएको थियो ।
एन्फाले कार्यसमिति बैठकका लागि १२ वटा एजेन्डा तय गरिसकेको छ । जसमा महिला साफ च्याम्पियनसिपको तयारीदेखि विवादमा रहेको एनएसएल, विभिन्न पदाधिकारी नियुक्ति लगायतका एजेन्डामा छलफल र निर्णय हुने बताईएको थियो ।
यस्तै एन्फाका उपाध्यक्ष कुमार केसीले माग गरेको थप एजेन्डामा समेत छलफल हुने तालिका थियो ।
नवनिर्वाचित कार्यसमिति वार्षिक कार्यक्रम सहित अघि बढ्नुपर्ने बताउँदै केसीले बैठकमा ५ वटा एजेन्डा थप्न माग गरेका छन् ।