काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-ट्वान्टी लिग खेल्ने ४ वटा टिमको नाम र टिम मालिक घोषणा गरेको छ।
सोल्टीमोडस्थित हायात प्यालेसमा सोमबार एक कार्यक्रमबीच क्यानले नेपाल टी-ट्वान्टी लिग खेल्ने ४ वटा टिम र टिम मालिकको घोषणा गरेको हो ।
पहिलो संस्करणमा कान्तिपुर क्यापिटल, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स र जनकपुर रोयल्सले प्रतिस्पर्धा गर्ने छन् । जसमा विराटनगर र जनकपुरको स्वामित्व भारतीय कम्पनीको रहेको छ ।
कान्तिपुर मिडिया ग्रुप अन्तर्गत रहेको कान्तिपुरको टिम मालिकमा महेश्वर स्वार,अल स्टार्स स्पोर्ट्स अमेरिका अन्तर्गतको लुम्बिनीको टिम मालिक संजय शर्मा, डाइमण्ड डिगिक्याप स्पोर्ट्स प्रालि, भारत अन्तर्गत रहेको विराटनगरका बिक्रम यादव र गोल्ड स्पोर्ट्स प्रालि अन्तर्गत रहेको जनकपुरका टिम मालिकमा गौरी शंकर धामनी रहेका छन् ।
पहिलो संस्करणको प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । बाँकी दुई टिमको नाम र मालिक चाडै सार्वजनिक गरिने क्यानले जनाएको छ ।
'आईसीसीलाई ६ वटै टिमको नाम र वोनरको नाम पठाई सकेका छौँ । तर आज दुई टिमका वोनर आउन नसक्नु भएकोले ४ टिम मात्र सार्वजनिक हुनेछ । बाँकी दुई टिम पनि छिटोभन्दा छिटो सार्वजनिक गर्ने छौँ,' क्यानका अध्यक्ष चतुर बहादुर चन्दले भने ।
प्रतियोगिता असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुनेछ ।
क्यानले आयोजना गर्न लागेको पहिलो फ्रेन्चाइज क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यता दिएको छ ।
यस्तै प्रतियोगितालाई नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यस अघि नै मान्यता दिईसकेको छ।