काठमाडौं । अमेरिकाका राष्ट्रिय क्रिकेट टोलीका बलर अली खानले नेपाली क्रिकेट समर्थकप्रति गरेको टिप्पणीमा नेपालका कप्तान सन्दीप लामिछानेले जवाफ दिएका छन् ।
अलीले सामाजिक संजाल ट्वीटरमार्फत नेपाली समर्थक सबैभन्दा खराब रहेको टिप्पणी गरेका थिए ।
नेपाली समर्थकले पठाएको सन्देशसहित अमेरिकी पत्रकार पिटर डेला पेनाले गरेको ट्वीटमा अलीले खराब समर्थक भएको प्रतिक्रिया दिएका थिए ।
उक्त टिप्पणीमा कप्तान सन्दीपले अलीबाट आफुले घृणित टिप्पणीको आशा नगरेको जवाफ दिएका छन् ।
अलीको टिप्पणीमा कोट गर्दै सन्दीपले लेखेका छन्, 'मेरो एक क्रिकेट सहकर्मीबाट यस्तो सामान्यीकृत र घृणित टिप्पणीको आशा कहिल्यै गरेको थिएन । नेपाली जनताले क्रिकेटको सास फेर्छन् । क्रिकेट उनीहरुको रगतमा छ । र, तिनीहरू क्रिकेट विश्व नक्शाका एक महत्वपूर्ण भाग हुन् । खेलकुदले मात्र मानिसहरूलाई एकताबद्ध गर्दछ । उनीहरूलाई विभाजित नगर्नुहोस ।'
पाकिस्तानमा जन्मिएका अली अमेरिका क्रिकेटका चर्चित क्रिक्टर हुन् । उनी आईपीएल खेल्ने पहिलो अमेरिकी क्रिकेटर समेत हुन् ।