काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक स्थगित भएको छ ।
एन्फाका अध्यक्ष पंकज बिक्रम नेम्वाङ बिरामी भएपछि आज डाकिएको बैठक स्थगित गरिएको हो ।
एन्फाले बोर्ड बैठकका लागि अर्को सूचना जारी गरिने जनाएको छ ।
एन्फाका महासचिव किरण राईले अध्यक्ष नेम्वाङ अस्वस्थ भएको कारण बैठक स्थगित गरिएको जानकारी गराए ।
महासचिव राईले ब्लड प्रेसर बढेको र मुटुको समस्या देखिएपछि अध्यक्ष नेम्वाङलाई उपचारका लागि मेडीसिटी अस्पताल भर्ना गरिएको बताए ।
'अध्यक्ष ज्युलाई ब्लड प्रेसर र मुटुको समस्या देखिएको छ । उहाँ मेडीसिटी अस्पतालमा भर्ना हुनु भएको छ।' खेलपाटीसँग कुरा गर्दै महासचिव राईले भने, 'आजको बोर्ड बैठक स्थगित गरिएको छ ।'
एन्फाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज सोमबार कार्यसमिति बैठक डाकेको थियो ।
एन्फामा नयाँ नेतृत्व आएपछि सूचना र एजेन्डासहित पहिलो पटक बैठक बस्न लागेको थियो ।
एन्फाले कार्यसमिति बैठकका लागि १२ वटा एजेन्डा तय गरेको थियो । जसमा महिला साफ च्याम्पियनसिपको तयारीदेखि विवादमा रहेको एनएसएल, विभिन्न पदाधिकारी नियुक्ति लगायतका एजेन्डामा छलफल र निर्णय हुने बताईएको थियो ।
यस्तै एन्फाका उपाध्यक्ष कुमार केसीले माग गरेको थप एजेन्डामा समेत छलफल हुने तालिका थियो ।
नवनिर्वाचित कार्यसमिति वार्षिक कार्यक्रम सहित अघि बढ्नुपर्ने बताउँदै केसीले बैठकमा ५ वटा एजेन्डा थप्न माग गरेका छन् ।