काठमाडौं । फुटबलका दुई चर्चित अन्तर्राष्ट्रिय खेलाडीहरु यसै हप्ता खेल छोड्दै विदेशिएपछि खेलाडी पलायनबारे फेरि बहस शुरु भएको छ।
केहि साता अघि भएको एसियन कप छनोटको तेस्रो चरणमा कुवेतविरुद्ध ४० वर्षपछि गोल गर्दै इतिहास रचेका दर्शन गुरुङ र २०७५ मा राष्ट्रिय टिममा डेब्यू गर्दै राष्ट्रका लागि १६ अन्तराष्ट्रिय खेल खेलिसकेका सन्तोष तामाङ आइतबार साँझ अष्ट्रेलिया उडे ।
उनीहरु त उडे तर आफ्ना पछाडी त्यस्ता जटिल प्रश्न छाडेर गए जसको उत्तर नेपाली खेलकुदसँग न हिजो थियो न त आज छ । सायद यही अवस्था रहने हो भने नेपाली खेलकुदले आउने नयाँ पुस्तालाई पनि यसको उत्तर दिन सक्ने छैन।
कति नेपाली खेलाडीहरु विदेशी भूमिमा छन् ? यसको यकिन तथ्यांक नेपाली खेलकुदको कुनै पनि निकायसँग छैन । वर्ष २०७९ को सुरुआती तीन महिना भित्र मात्रै ब्याडमिन्टनमा नेपालका नम्बर एक खेलाडी दिपेश धामी, भलिबलका क्विक स्पाइकर राजु विक, फुटबलका दर्शन गुरुङ, सन्तोष तामाङ उत्कृष्ट खेल खेल्दाखेल्दै पनि सुनौलो भविष्यको खोजीमा विदेश पलायन भईसकेका छन् ।
यतिबेला फुटबल जस्तो लोकप्रिय खेलका महत्वपूर्ण खेलाडीहरु बाहिरिँदा सामाजिक सन्जाल तातेको छ तर अन्य खेलका खेलाडीहरुको पलायन यो भन्दा भयानक छ । अब सोचौं, मात्र यहि वर्षको ३ महिना भित्र त यो हालत छ भने पूरा वर्षमा यो तथ्याङ कहाँ पुग्ला ?
यिनीहरु त केवल प्रतिनिधि पात्र हुन् । कयौं राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरु हप्तैपिच्छे विदेश पलायन भईरहेको डरलाग्दो अवस्था खेलकुद वृत्तमा कसैबाट लुकेको छैन ।
तर, औपचारिक कार्यक्रममा स्टेज अगाडी फोटो खिचेर फेसबुकमा हाल्दै, लाइक गन्दै मख्ख पर्ने खेल संघका पदाधिकारी, चार जना मान्छे अगाडी जम्मा हुनु पर्यो भाषणबाजीमा नेपाललाई विश्वकप जिताउने खेलकुद मन्त्रालयका मन्त्री, कोट पाइन्टमा फूलमालाले सजिएर सम्मान थाप्ने राष्ट्रिय खेलकुद परिषद्का 'खेल नेताहरु', विदेश भ्रमण बाहेक अरु बेलामा 'यो त हाम्रो जिम्मा हैन है' भन्दै पन्छिन खोज्ने ओलम्पिक कमिटि लगायत खेलकुदका नीति निर्मातालाई खेलाडी किन बिदेशिरहेका छन् भन्ने विश्लेषण गर्ने फुर्सद नै हुँदैन । कठै हामी नेपालीको बिडम्बना !!
फेरि कति सजिलो छ उत्तर । 'नेपालमा भविष्य देखेनन् हिँडे विदेश' ।
कुन भविष्यको कुरा गर्नुभएको महोदय ? त्यसैले त तपाई त्यो भविष्य बनाउने स्थानमा हुनुहुन्छ । बनाउनुस न त भविष्य । एउटा खेलाडीकै लागि त खेल छ, खेलकुद संघ छ, तपाईहरु हुनुहुन्छ, परिषद छ, खेलकुद मन्त्रालयसम्म बनेको छ । तर त्यही खेलाडी नै रोजगारको लागि विदेशिन्छ भने के अस्तित्व छ यी सबै निकायको ? खेलाडी नै रहेन भने कसको लागि बन्नुहुन्छ पदाधिकारी ?
फेरि भन्नुहोला 'विदेश पलायन भएकाहरु बाहेक देशमा अरु खेलाडी पनि त छन् ।'
त्यसोभए, के देशमा रहेर खेलिरहेका अधिकांश खेलाडीहरु साँच्चै खुसी छन् ?
सन्तुष्ट छन् हाम्रो खेल नीति बाट ? यतातिर कहिल्यै सोच्नु भएको छ ?
एउटा खेलाडीले पाउनु पर्ने सबै सुबिधा उपभोग गर्न पाइरहेका छन् खेलाडीले ? कहिल्यै ध्यान दिनु भएको छ यतातिर?
बनावटी उत्तरले खेलकुद जस्तो तथ्यपुरक क्षेत्रमा अब धेरै काम नगर्ला । नत्र गौरिका सिंह, सन्दीप लामिछाने, रोहित चन्द, पारस खड्का, किरण चेम्जोङहरु नेपाली खेलकुदको इतिहासमा केवल अपवादको रुपमा रहनेछन । तपाईहरुको सजिलोका लागि ।
अब उतैतिर लागौं फेरि,
नेपाली फुटबल खेलाडीहरु रहर र बाध्यताको बीचबाट विकल्प खोजिरहेका छन् । जसमा सबैभन्दा ठुलो 'फ्याक्टर' पैसा नै हुन्छ यसमा कुनै दुईमत छैन । तर, यो ध्रुबसत्यलाई बाहना बनाएर जिम्मेवारीबाट पन्छिने छुट कसैलाई हुनुहुदैन।
फुटबल खेलाडी सन्तोष तामाङ त्रिभुवन आर्मी क्लबबाट व्यावसायिक फुटबल खेलिरहेका थिए । नेपालमा विभागबाट खेल्ने खेलाडी आर्थिकरुपमा सुरक्षित हुन्छन भन्ने मान्यता छ । त्यसोभए सबै कुरा आर्थिक मात्र पनि नहुदो रहेछ त ।
विश्व फुटबलको समेत उदाहरण हेर्नु पर्दा, ३७ वर्षको उमेरमा रोनाल्डो जस्ता महान हस्ती त अँझ उच्च स्तरमा नियमित प्रतिष्पर्धाको लागि म्यानचेस्टर युनाइटेड जस्तो ठुलो क्लब छोड्न तयार छन् । उनलाई पैसाको कमी भएर त पक्कै हैन । तर, उनी चाहन्छन नियमित च्याम्पियन्स लिग खेल्न ।
नेपाली फुटबलरलाई त्यो स्तरमा तुलना गर्न खोजिएको होइन तर खेलाडीको अनुहारबाट बग्ने पसिनाले त सन्तोष तामाङ र क्रिस्टियानो रोनाल्डोबीचको अन्तर त छुट्टाउदैन । उनीहरुले गर्ने मेहनतले त बस एउटा फुटबलरको चाहना, इच्छा र भावना समेट्छ समान रुपमा । आफुलाई फुटबल मै व्यस्त राख्छु भनेरै कोहि मान्छे फुटबलर बन्छ तर खै त वर्षैभरि फुटबल आयोजना भएको ?
नविन गुरुङ, सुमन लामा र आषिश लामाले पनि केही समय अघि नै नेपाल छाडेर अस्ट्रेलिया गए । हेमन गुरुङ, एलन न्यौपाने र जगजित श्रेष्ठ पनि अस्ट्रेलिया पलायन भएको धेरै भइसक्यो । सायद नेपाल भन्दा अस्ट्रेलियाले नेपाली फुटबलरको भावना बुझ्यो । नत्र आफ्नो राष्ट्रलाई प्रतिनिधित्व गर्दाको गौरव छाडेर उनीहरु किन विदेश पलायन हुन्थे ।
एकजना राष्ट्रिय टोलीकै सिनियर नाम चलेका स्टार खेलाडीलाई मैले सोधें, 'तपाईंलाई पनि अवसर त थियो होला । तपाईले किन विदेशिने सोच राख्नु भएन ?'
नाम नखुलाउने शर्तमा उनले भने, 'होइन हेम भाइ, यदि मेरो पनि सबै कुरा मिलेको भए म पनि यहाँ बस्दिन थिएँ । यहाँ करियर नै छैन ।'
'यहि त हो करियर । राष्ट्रिय टोलीबाट खेल्नु सपना हुन्छ सबैको । तपाई त झन् फेमस पनि हुनुहुन्छ आफ्नो स्टार्डम दाउमा राखेर विदेश जानुहुन्थ्यो ?' मेरो प्रतिप्रश्न ।
'नेपालको स्टार्डमले मेरो करियर सेक्युर हुदैन भाइ । आफै भन राष्ट्रिय टोलीमा पुग्दासम्म एउटा उमेर भईसक्छ कति वर्ष खेल्छौ तिमि राष्ट्रिय टोलीमा ? हामी पनि व्याबहारिक हुनुपर्छ, बिहे गर्नुपर्छ । पैसा कहिले कमाउनु ? एन्फाले त जिन्दगीभर तलब दिदैन क्यारे । अनि विदेश जस्तो १ वर्षको लिग हाम्रोमा हुँदैन । जुन स्टार्डमलाई एउटा कर्पोरेट हाउसले त भ्यालु दिदैन त्यस्तो स्टार्डमको के कुरा भाइ । हामी स्टार नै भए खै त हाम्रो पर्सनल स्पोन्सर ? त्यसैले मिलेको भए म पनि जान्थें विदेश ।'
घरेलु फुटबलको कमजोर संरचना, तीन महिने त्यो पनि अनियमित लिग, पर्याप्त भौतिक पूर्वाधारको कमी र अन्य विकल्पहरुको अभाव नै खेलाडी पलायन हुनुका मुख्य कारणहरु हुन् । आशा छ एन्फाको नयाँ नेतृत्वले यस विषयलाई गम्भीरतापूर्वक लिएर खेलाडीका आकांक्षालाई बुझ्नेछ ।
तर, कुरा फुटबलको मात्र हैन । २०० भन्दा धेरै खेलकुदका राष्ट्रिय संघहरु नेपालमा छन् ।
भनिन्छ, देशमा रहेका यूवाहरुलाई देशको स्रोत साधनको उचित सदुपयोग गर्नमा उत्साह बढाउनुपर्छ । राष्ट्रका कर्णधार युवालाई देशमै रोक्नमा खेलकुदको महत्वपूर्ण हात हुन्छ । तर यसरि नेपाली राष्ट्रिय अन्तराष्ट्रिय खेलाडीहरु धमाधम विदेशिदा सबै भन्दा ठुलो घाटा राष्ट्रले व्यहोर्नुपर्छ । खेलाडी विदेशिनुको पछाडी सरकारले खेलकुदलाई रोजगारीमूलक स्रोत बनाउन नसक्नु प्रमुख कारण हो । यसमा सरकारको कमजोरी त छ नै, साथै जिम्मा पाएका खेलकुद निकायहरु सरकारसँग सहिरुपमा 'लविङ' गर्न चुक्दा यसको मूल्य खेलाडीले विदेशीएर तिर्नु परिरहेको छ ।
वर्तमान सरकारले पनि न्यूनतम साझा कार्यक्रम घोषणा गर्दै उर्जाशील युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न कार्यक्रम ल्याउने घोषणा गरेको छ । ‘युवाको अधिकार : शिक्षा र रोजगार’ लाई व्यवहारिकता दिने सरकारको योजना छ । खै त यसमा खेलकुदलाई पनि समेट्न सकेको ? हुन त यसैपनि यी योजना पूर्णरुपमा कार्यान्वयन हुन्छन भन्ने शंका प्रशस्त छ ।
स्वदेशमा रोजगारी नपाएर तीन चौथाइ युवा वैदेशिक रोजगारीमा जान बाध्य छन्। तर अहिलेसम्म सरकारले वाध्यतात्मक वैदेशिक रोजगार अन्त्य गर्न सकेको छैन। खेल क्षत्रलाई रोजगारमुलक गराई खेलाडीलाई नियमित तलब सुबिधा, प्रशिक्षण जस्ता आधारभूत आवश्यकता पूरा गर्न सके खेलाडीलाई बाँच्नकै लागि विदेशिनुपर्ने बाध्यता आउँदैन ।
सरकारले खेलाडीलाई विदेश पलायन हुनबाट रोक्ने भन्दै कागजी योजनाहरु बनाउन थालेको समाचारहरु जब मिडियामा आउँछन् सुरक्षित भविष्यको पर्खाइमा बसेका हजारौँ खेलाडीहरु आशावादी बन्छन । देशमै बसेर खेल्ने, राष्ट्रको झन्डा फहराउदै, छातीमा हात राखेर राष्ट्रियगान गाउँदाको अमुल्य क्षणको कल्पना गर्छन ।
उनीहरुको मनमा खेलकुदमै पनि रोजगारको ग्यारेन्टी हुने भएपछी हामी खेलाडीको लागि पनि हाम्रो सरकार छ है भन्ने भावना बोध हुन्छ । अब त जुत्ता किन्ने पैसा नभएर अन्तराष्ट्रिय खेलमा नाङ्गो खुट्टा दौडिन नपर्ला नि भन्ने विश्वास जाग्छ, अब त जाने खर्च नभएर ठुलो अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिन नपाउने हुदैन होला नि भन्ने भरोसा हुन्छ, अब त डाइट नपुगेर बिरामी परिएला नि भन्ने चिन्ता भाग्छ, अब त घाइते भएर अस्पतालमा छट्पट गर्दा उपचार पाइएला नि, राम्रो प्रशिक्षण गर्न पाइएला नि, अब त यतिका वर्ष गरेको मेहनत, त्यागको मुल्यांकन होला नि भन्ने लाग्छ ।
तर अफसोस ! वैदेशिक रोजगारीको लागि राहदानी विभागमा 'पासपोर्ट' बनाउँदा, यत्रतत्रको दौडधुपले निधारबाट बगेको पसिना जब नाकको टुप्पामा आइपुग्छ, अनि औंलाले सर्लक्क पसिना पुछ्दा भुइमा झर्ने पसिनाको थोपासँगै झरेर जान्छन सपनाहरु ।
एउटा खेलाडी मैदानमा जहिल्यै जित्न खोज्छ । तर जिन्दगी नामको खेलमा जब 'बाध्यता' उसको प्रतिद्वन्दी बनेर आउँछ उसले हार स्वीकार्छ । अनि आत्मसमर्पण स्वरूप विकल्प खोज्छ । अनि थकित, चिन्तित, र आजित लामो सुस्केरा ओठबाट फुत्किन्छ 'अब म पनि जान्छु विदेश ।'