काठमाडौं । क्रिकेटमा कति बेला के हुन्छ भन्नै सकिन्न, त्यसै यसलाई अनिश्चिताको खेल भनिएको होइन् । न्युजिल्यान्ड तीन टेस्टको सिरिज खेल्न इंग्ल्यान्ड आउन अगाडिको स्थिति बेग्लै थियो । न्युजिल्यान्डको हैसियत थियो, विश्व च्याम्पियनको । त्यसको ठीक विपरित इंग्ल्यान्ड इतिहासकै खराब समयबाट गुज्रिरहेको थियो । चारैतर्फबाट इंग्ल्यान्डको आलोचना भइरहेको थियो । यस्तोमा इंग्लिस क्रिकेटले दुई नयाँ निर्णय गरेको थियो, कप्तानी बेन स्टोक्सलाई दिने ।
अनि प्रशिक्षकमा ब्रेन्डन म्याकलमको नियुक्ति । सायदले यसले रंग देखाउन सुरु गरेको छ । तीन टेस्टको सिरिजमा दुई खेल समाप्त हुँदा इंग्ल्यान्ड २–० ले अगाडि रहेको छ । हिजो मंगलबार मात्रै इंग्ल्यान्डले दोस्रो टेस्टमा न्युजिल्यान्डलाई पाँच विकेटले हरायो । ट्रेन्ट ब्रिजमा भएको खेलमा इंग्ल्यान्डले पाँचौं तथा अन्तिम दिन चौथो इनिङसमा २ सय ९९ रनको लक्ष्य सफलतापूर्वक पछ्याएको थियो । इंग्ल्यान्ड लर्डसमा भएको पहिलो टेस्टमा पनि विजयी रहेको थियो ।

यस्तोमा इंग्ल्यान्डले सिरिज नै जितेको छ । अब तेस्रो तथा अन्तिम टेस्ट एक प्रकारले औचापरिक मात्र हुने छ । भएन त यो, इंग्लिस क्रिकेटले कोल्टे फेरेको ? यो जितबाट कप्तान स्टोक्स खुबै खुसी छन् र यसलाई आफ्नो खेल जीवनकै सबैभन्दा उत्कृष्ट जित मानेका छन् । यसलाई उनले वान डे विश्वकप फाइनलमा न्युजिल्यान्डमाथिकै जित र हेडिङलेमा प्राप्त एसेज सिरिजको जित भन्दा ठूलो मानेका छन् । यसपल्ट उनले निर्णायक प्रदर्शन मात्र गरेका छैनन्, कप्तानको भूमिकामा पनि छाएका छन् ।
इंग्ल्यान्डले जसरी यो जितका लागि खेलेको थियो, त्यसले देखाएको छ, टेस्ट क्रिकेट भनकै वास्तविक क्रिकेट हो । केही वर्ष अगाडिसम्म भएको भए, यो खेल निरश बराबरीमा टुंगिने सम्भावना धेरै थियो, तर अचेल क्रिकेट जसरी खेलिन्छ, त्यो फेरिएको छ । इंग्ल्यान्डलाई जितका लागि ७२ ओभरमा २ सय ९९ रन बनाउनु थियो । तर इंग्ल्यान्ड ५० ओभर भित्रै जितसम्म पुग्न सफल रह्यो । फेरि इंग्ल्यान्डले प्रति ओभर छ रनको औसतले खुबै आक्रामक हुँदै खेल खेलेको थियो ।


खेलको अन्त्यमा स्टोक्स ७५ रन बनाएर नटआउट रहे । उनले एकपछि अर्को छक्का प्रहार गर्दै इंग्ल्यान्डलाई जिततर्फ दोहराएका थिए । यो जितको असली नायक भने जोनी बियरस्टो रहे । उनले १ सय ३६ रन बनाए । त्यसका लागि उनले जम्मा जम्मी ९२ बलको सामना गरेका थिए । उनी खेलका ‘प्लेयर अफ द म्याच’ पनि भए । उनले १४ चौका र सात छक्का प्रहार गरे । यो जित वास्तवमै किन अद्धितीय छ भने यसमा न्युजिल्यान्डले पहिले ब्याटिङ गर्दै आफ्नो पहिलो इनिङसमा ५ सय ५३ रन बनाएका थिए ।

यति धेरै रन बनाएर पनि कुनै टिम पराजित हुन्छ भने त्यो टेस्ट क्रिकेट फेरिएको नमुना नै त हो । धेरै धेरै अगाडि पहिले ब्याटिङ गरेको टिमले चार सय रन बनायो भने भनिन्थ्यो, अब यो टिम कम्तीमा यो खेलमा पराजित हुने छैन् । तर अहिले त पाँच सय रन बनाएर पनि नपुग्ने भइसकेको छ । इंग्लिस क्रिकेटका लागि भने यो सिरिज जित खुबै स्वादिलो र ठीक समयमा आएको छ, नत्र लागिरहेको थियो, यसका खराव दिन कायम रहनेछ ।
-एजेन्सीहरूको सहयोगमा ।