काठमाडौं । सरकारको नीति तथा कार्यक्रममा धनगढीको फाप्ला र चितवनको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट मैदानले प्राथमिकता पाएका छन् ।
मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानको निर्माण सुरु गर्ने बताउँदै गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको बाँकी काम टुङ्गो लगाउन समन्वय र सहजीकरण गर्ने उल्लेख गरेकी छिन् ।
फाप्लाको जग्गा विवाद यसै वर्ष समाधान भएको छ भने गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको बाँकी कामको स्वामित्व स्थानीय सरकारले लिएको छ ।
सरकारले आगामी आर्थिक वर्षमा फाप्ला र गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट मैदानको निर्माण कामलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रममा समावेश गरेको छ ।
’फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानको काम थालिने छ । चितवनको गौतमबुद्ध मैदानको निर्माणको बाँकी कामलाई टुगोमा पुर्याउन समन्वय तथा सहजीकरण गरिनेछ ।’ वार्षिक नीति तथा कार्यक्रममा भनिएको छ ।
सरकारको नीति तथा कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरी खेलाडी स्तर वृद्धि गर्ने र खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण तथा खेलमा सहभागिताताको अवसर उपलब्ध गराइने उल्लेख छ ।
यस्तै, सरकारले मापदण्ड बनाई खेलाडीलाई पुरस्कार, भत्ता, बीमा तथा आवश्यक प्रोत्साहन गर्दै प्रत्येक विद्यालयमा खेलकुद क्लब स्थापना गर्ने कार्यक्रमलाई आगामी आर्थिक वर्षको बजेटमा समेट्ने भएको छ ।
सरकारले आगामी वर्ष नेपालमा साहसिक तथा पर्वतीय खेलको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने देखि प्रत्येक प्रदेशमा कम्तिमा एक प्रशिक्षण सुविधा सहितको रंगशाला निर्माण गर्दै जाने नीति अख्तियार गरेको छ ।
आगामी वर्ष गैडाकोटमा विपी कोइराला अन्तर्राष्ट्रिय खेल ग्राम बनाउने र सबै स्थानीय तहमा खेलग्राम निर्माण, हाइ अल्टिच्युड ट्रेनिङ स्थापना गर्ने विषय सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ ।