एजेन्सी । इरान, रुस विश्वकपमा छनोट हुने पहिलो एसियाली राष्ट्र । पहिलो खेलमा बलियो टोली मोरक्कोमाथि जित ।
समूह चरणको पहिलो राउण्डको समाप्तिमा अंक तालिकाको शीर्ष स्थानमा । समूह 'बी' मा इरानसँग ३ अंक । स्पेन र पोर्चुगललाई १–१ अंक । मोरक्को अंकबिहिन ।
यस्तोमा इरानको भाग्यपरीक्षा आज स्पेनविरुद्ध हुनेछ । स्पेन तीनै हुन्, जो युरोपियन फुटबलमा सिंह जस्तै हो । भलै, स्पेनले पहिलो खेलमा १ अंक मात्र जोड्न सफल भयो ।
इरान र स्पेन मैदान उत्रदा दुवै अपरिचित हुनेछन् । तर, दुवैको लक्ष्य ३ अंक नै हुनेछ । इरानले पहिलो खेलमा देखाएको बहादुरीले युरोपियन महारथीलाई केहि झस्काएको भने छ । मोरक्कोमाथि जित निकालेको इरान आत्मविश्वासी देखिएको छ ।
यता, युरोपियन च्याम्पियन पोर्चुगलविरुद्ध ३ – ३ गोलको बराबरी खेल्दा स्पेनको प्रदर्शन उच्च थियो । स्पेनको त्यो लयलाई रोक्न इरानलाई चुनौती हुनेछ । त्यसैले त इरानी प्रशिक्षक कार्लोस क्विरोजले यो खेललाई विश्वकपको फाइनल भन्दा ठुलो खेलको संज्ञा दिएका छन् ।
स्पेनविरुद्धको खेलअघि कार्लोसले भनेका छन्, 'हाम्रो लागि मोरक्कोसँगको खेल विश्वकप फाइनलसरह थियो । स्पेनविरुद्धको खेल ब्रह्मांड कपको फाइनल सरहको खेल हो ।' तर, प्रशिक्षक कार्लोसले मोरक्कोविरुद्धको जित चमत्कार नरहेको बताए ।
स्पेनको टोली पोर्चुगलविरुद्धको खेलमा रहेको टिम नै रहने छ । पहिलो सेट परिवर्तन हुने छैन । स्पेनिस टोलीका मुख्य हतियार डिएगो कोष्टा हुनेछन् । उनले पोर्चुगलविरुद्ध २ गोल गरेका थिए ।
इरानलाई डिफेन्डर रुजबेह चेसामीको अभाव खड्किने छ । खुट्टाको चोटका कारण मैदान बाहिर रहने चेसामीको स्थान लिनेछन् युवा खेलाडी मोहमद रेजाले । अनुभवी डिफेन्डर नहुदा इरानलाई गाह्रो हुनेछ, स्पेनीस टोलीका फरवार्डलाई रोक्न ।
स्पेनको लागि तुलनात्मक रुपमा कमजोर टोली हो इरान । तर, मोरक्कोलाई हराएको इरानलाई कमजोर मान्ने छैन स्पेनले । पहिलो खेलको बराबरीले स्पेनको लक्ष्य दोस्रो खेलमा कम्तिमा ३ अंक जोड्ने मात्र हुनेछ । ३ अंकको लागि स्पेन पहिलो मिनेटबाटै गोलको खोजीमा हुनेछ । यो खेलमा बराबरी र हार बेहोरे स्पेनको दोस्री चरण कमजोर हुनेछ ।
'यो खेल हाम्रो लागि महत्वपूर्ण छ । यो खेलले विश्वकपमा हाम्रो भाग्य निर्धारण गर्छ,' इरानसँगको खेलअघि स्पेनिस मिडफिल्डर इस्कोले भने, 'हामी पहिलो मिनेटबाटै गोल गर्ने लक्ष्यमा हुनेछौ । यद्दपी हामीलाई सजिलो भने छैन ।'
पाँचौ पटक विश्वकप खेलिरहेको इरानकोले अघिल्ला विश्वकपमा युरोपियन राष्ट्रलाई हराउन सकेको छैन । अघिल्ला ६ भेटमा ५ खेल गुमाएको इरानले १ बराबरी खेलेको छ । यता, स्पेन एसियन राष्ट्रविरुद्ध अपराजित रहेकोछ ।