काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) बारे प्रायः सोधिन एउटा प्रश्न हो, यो प्रतियोगितामा किन मुम्बई इन्डियन्स र चेन्नाइ सुपर किंग्स जस्ता टिमले उपाधि बढी जित्ने गर्छन ? संयोग कस्तो भने प्रतियोगिताकै सफल यी दुई टिम खराब लयबाट गुज्रिरहेका छन् र दस टिम सम्मिलित प्रतियोगिताको पुछारका दुई स्थानमा छन् ।
अर्को प्रश्न हो, टिम जत्तिकै बलियो भए पनि अहिलेसम्म रोयल च्यालेन्जर्स बैंगलोरले किन एक पल्ट पनि उपाधि जित्न सकेको छैन् ? विशेषतः विराट कोहली कप्तान रहेकै बेला पनि बैंगलोरले उपाधि जित्न सकेन् । यो टिम तीन पल्ट फाइनलमा त पुगेको छ, तर प्रत्येक पल्ट पराजित रहेको छ ?
सम्भवतः यही कारण बेंगलोरले कप्तानी पनि फेरेको छ । विराटको स्थानमा दक्षिण अफ्रिकाका फाफ डे प्लेसिसयले यसपल्ट नेतृत्व सम्हालिरहेका छन्। उनकै कप्तानी प्रदर्शनमा बैंगलोरले हिजो मंगलबार मात्र लखनउ सुपर जायन्ट्सलाई हरायो । त्यसमा प्लेसिसले ९६ रन बनाए र यसक्रममा उत्कृष्ट प्रदर्शन पनि गरे ।
त्यस लगतै उनको प्रतिक्रिया थियो, बेंगलोर उपाधि जित्न निकै आतुर छ । उनलाई के लागेको छ भने बैंगलोरको टिम यसपल्ट राम्रो छ, बलियो छ र यसले उपाधिका लागि चुनौती दिन सक्छ । अहिले तत्काल टिमको लक्ष्य प्ले अफ नै हो । सायद त्यहाँ पुगिन्छ पनि होला । अहिलको निचोड हो, बेंगलोरले आईपीएल जित्ने सपना बुनिरहेको छ ।
–एएफपीको सहयोगमा ।