मुम्बईको छैटौं हार, लखनउ शीर्ष स्थानमा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा मुम्बई इण्डियन्सले लगातार छैटौं हार व्यहोरेको छ ।
शनिबार भएको खेलमा मुम्बई लखनउ सुपर जायन्ट्ससँग १८ रनले पराजित हुँदै मुम्बईले छैटौं हार व्यहोरेको हो ।
लखनउले दिएको २०० रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८१ रन मात्र बनाउन सक्यो ।
मुम्बईका लागि सूर्यकुमार यादवले ३७ रन जोड्दा डिवल्ड ब्रेभिसले ३१ रन बनाए। तिलक वर्माले २६ तथा केइरन पोलार्डले २५ रन बनाए ।
लखनउका अभेस खानले ३ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९९ रन जोडेको थियो ।
लखनउका लागि केएल राहुलले अविजित रहदै ६० बलमा ९ चौका र ५ छक्का प्रहार गर्दै १ सय ३ रनको शतकीय इनिङ खेले । आईपीएलमा राहुलको यो तेस्रो शतक हो ।
यस्तै क्विन्टन डी ककले २४, मनिष पाण्डेले ३८ रनको योगदान गरे ।
मुम्बईका जयदेव उनाद्कटले २ विकेट हात पारे ।
जितसँगै लखनउ शीर्ष स्थान उक्लिएको छ । लखनउको यो चौंथो जित हो । लखनउले ६ खेलमा ८ अंक जोडेको छ ।
मुम्बई अंक विहीन रहेर पुछारमा रहेको छ । जारी सिजन जित निकाल्न नसक्ने मुम्बई एक्लो टोली हो ।