काठमाडौं । छपकी सुपर किङ्सले प्रदेश नम्बर-१ को पहिलो फ्रेन्चाईज क्रिकेट प्रतियोगिता डिजिटल गढी प्रिमियर लिगको उपाधि जितेको छ ।
बिहीबार भएको फाइनलमा मधेली च्यालेन्जरलाई ६५ रनले हराउँदै छपकी च्याम्पियन बनेको हो ।
टस हारेर पहिलो ब्याटिङ गरेको छपकीले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७६ रन बनाएको थियो । छपकीका लागि श्रवण यादवले ७ चौका र ६ छक्काको मद्दतमा ५९ रनको अर्धशतकीय इनिङ खेले ।
त्यस्तै कप्तान सिद्धान्त लोहनीले २ चौका र ३ छक्काको मद्दतले ३० रन बनाए । रितेश रायले २४ रन बनाएका थिए ।
मधेली च्यालेन्जरका लागि सुमित यादव,कमल खत्री, आमोद यादवले २/२ विकेट लिए ।
छपकीले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको मधेलीले १९ ओभर २ बलमा अलआउट हुँदै १ सय ७ रन मात्र बनाउन सक्यो । मधेलीका लागि विवेक मेहताले २८ रन बनाए । त्यस्तै कमल खत्रीले २१ रन जोडे ।
छपकीका अभिषेकले ३ तथा जोसक, श्रवण र दीपकले २/२ विकेट लिए ।
डिजिटल गडी निर्माण अभियानको आयोजना र सुनसरी जिल्ला क्रिकेट संघको व्यवस्थापनमा भएको प्रतियोगिताको बेस्ट बलर मधेली च्यालेन्जरका सुमित यादव चुनिए ।
वेस्ट ब्याट्सम्यान छपकीका रितेश रोय र प्लेयर अफ द सिरिज छपकीका श्रवण यादव चुनिए ।