काठमाडौं । मलेसिया-११ नेपाल प्रो-क्लब च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ ।
सिदार्थनगर क्रिकेट रंगशालामा बिहीबार उत्तर प्रदेश क्लब-११ लाई १४ रनले हराउँदै मलेसिया फाइनल पुगेको हो ।
५ ओभरमा झारिएको खेलमा मलेसियाले जितका लागि ४५ रनको लक्ष्य दिएको थियो ।
तर, लक्ष्य पछ्याउने क्रममा उत्तर प्रदेशले ५ ओभरमा ४ विकेट गुमाएर ३० रन मात्र बनाउन सक्यो ।
उत्तर प्रदेशका लागि शुभम चौधरीले सर्वाधिक ११ रन जोडे ।
मलेसियाका विरन्दिप सिंहले २ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको मलेसियाले ३ विकेट गुमाएर ४४ रन जोडेको थियो ।
मलेसियाका लागि सायद अजिजले २३ तथा विरन्दिपले अविजित २० रन बनाए ।
अब मलेसियाले उपाधिका लागि त्रिभुवन आर्मी क्लब र रुपन्देही-११ बीचको विजेतासँग खेल्नेछ ।