काठमाडौं । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा लगातार पाँचौं हार व्यहोरेको छ।
पुनेमा बुधबार राति पन्जाब किङ्ससँग १२ रनले पराजित हुँदै मुम्बईले पाँचौं हार व्यहोरेको हो ।
पन्जाबले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८६ रन मात्र बनाउन सक्यो ।
मुम्बईका देवल ब्रेभिसले ४९ रन जोड्दा सूर्यकुमार यादवले ४३ रन बनाए । तिलक बर्माले ३६ रन जोडे भने कप्तान रोहित शर्मा २८ रन बनाएर आउट भए ।
मुम्बईलाई सस्तैमा समेट्न पन्जाबका ओडिन स्मिथले ४ तथा कागिसो राबडाले २ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९८ रन जोडेको थियो ।
पन्जाबका लागि शिखर धवनले ७० रनको अर्धशतकीय इनिङ खेल्दा कप्तान मायांक अग्रवालले ५२ रनको अर्धशतकीय इनिङ खेले ।
जितेश शर्मा अविजित ३० रन जोड्दा साहरुख खानले १५ तथा जोनी बेयर्स्टोले १२ रन बनाए ।
मुम्बईका बसिल थाम्पीले २ विकेट लिए । जयदेव उनाकड, जस्प्रित बुम्राह र मुरुगान आश्विनले १/१ विकेट लिए ।
जितसँगै पन्जाबले ५ खेलमा ६ अंक जोडेको छ ।
पन्जाब तेस्रो स्थानमा उक्लिएको छ ।
मुम्बईले ५ खेलमा अंक जोड्न सकेको छैन ।
मुम्बई पुछारमा रहेको छ ।