काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) का निमित्त सदस्यसचिव कुलबहादुर थापाले राखेपबाट राजीनामा दिएका छन् ।
राखेप प्रशासन विभाग प्रमुख रहेका थापाले बुधबार राखेप सदस्य सचिव टंकलाल घिसिङलाई राजीनामा पत्र बुझाएका छन् ।
थापाले अवकाशको अवधि पूरा नहुँदै राखेपबाट राजीनामा गरेका हुन् । थापाले घरायसी कारण आफुले राखेपबाट राजीनामा दिएको बताए ।
'सदस्य सचिवलाई राजीनामा बुझाएको छु । घरायसी कारण मैले राखेपबाट राजीनामा दिएको हो,' थापाले भने ।
राखेपमा थापाको अवकाश अवधि अझै साढे दुई वर्ष बाँकी रहेको छ ।
सदस्य सचिवको नयाँ नियुक्त र बर्खास्ती सम्बन्धि सर्वोच्च अदालतमा रिट परेपछि राखेपको निमित्त सदस्य सचिवको जिम्मेवारी थापाले पाएका थिए ।
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले थापालाई फागुन ४ गते निमित्त सदस्यसचिवको जिम्मेबारी दिएका थिए।
करिब २६ वर्षअघि (२०५२ साल भदौ ८ गते) थापा राखेपमा अधिकृत तृतीय श्रेणीमा राखेप सेवामा प्रवेश गरेका थिए । थापाले राखेप मातहतका प्रशासन विभाग, खेलकुद विकास विभाग र खेलकुद प्रतियोगिता तथा योजना विभागमा प्रमुख भइ कार्य गरेका थिए ।
प्रचार प्रसार शाखा, कर्मचारी प्रशासन शाखालगायत विभिन्न शाखामा पनि प्रमुख भइ काम गरेको अनुभव थापासंग छ।
समारोह विज्ञका रुपमा परिचित अधिकृत द्वितीय श्रेणीका थापाले पाँचौंदेखि आठौं राष्ट्रिय खेलकुदको समारोह उपसमितिको महत्वपूर्ण जिम्मेवारीमा रहि काम गरेका छन् ।
नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा थापाले समारोह निर्देशकको महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।