काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ राखेपमा फर्किएका छन् ।
सर्वोच्च अदालतले सदस्य सचिवको नयाँ नियुक्त र बर्खास्ती सम्बन्धि परेको रिट खारेज गरेपछि सदस्य सचिव घिसिङ बुधबारबाट राखेप फर्किएका हुन् ।
सर्वोच्च अदालतका न्यायाधिश अनिल कुमार सिन्हा र कुमार रेग्मीको इजलाशले मंगलबार बर्खास्तीमा परेका राखेपका सदस्य सचिव रमेश सिलवालले दर्ता गराएका रिट खारेज गरेको थियो । रिट खारेज भएसँगै घिसिङले सदस्य सचिवमा निरन्तरता पाएका हुन् ।
सरकारले कार्यसम्पादन गर्न नसकेको आरोपसहित राखेपका तत्कालिन सदस्य सचिव सिलवाललाई पदमुक्त गरेको थियो। सरकारले सिलवाललाई गत कात्तिक १ गते बर्खास्त गरेको थियो ।
यस्तै गत मंसिर १३ गते टंकलाल घिसिङलाई नयाँ सदस्य सचिव नियुक्त गरेको थियो ।
तर, सिलवालले मन्त्री परिषद्को निर्णयविरुद्ध अदालतमा मुद्दा दर्ता गरेका थिए । त्यसपछि सर्वोच्चले सिलवालले दायर गरेको रिटमा पछिल्लो नियुक्ति कार्यान्वयन नगर्नु भन्दै अल्पकालिन अन्तरिम आदेश दिएको थियो ।