एजेन्सी । रुसमा जारी फिफा विश्वकप अन्तर्गत आज हुने पहिलो खेलमा कोलम्बिया र जापानले प्रतिस्पर्धा गर्दैछ । समूह 'एच' मा रहेका कोलम्बिया र जापानबीचको खेल नेपाली समय अनुसार साँझ ५ : ४५ मा हुनेछ ।
मोर्डोभिया रंगशालामा दुवै टोलीको लक्ष्य पहिलो खेलमा ३ अंक जोड्नु रहनेछ । यस्तोमा दुई टोलीबीचको खेल निकै रोमान्चक हुने अपेक्षा गरिएको छ ।
दक्षिण अमेरिकी राष्ट्र कोलम्बिया निकै बलियो टोली हो । कोलम्बियासँग विश्वस्तरीय खेलाडीको बाहुल्यता छ । तर, कोलम्बियाका मुख्य हतियार जेम्स रोड्रीगेज हुनेछन् । रोड्रीगेज सन् २०१४ को गोल्डेन बुट बिजेता समेत हुन् ।
यता, एसियाका पावरहाउस जापान पनि कम छैन । जापानसँग घरेलु लिग र युरोपियन लिगमा खेलिरहेका खेलाडीबीचको समिश्रण रहेको छ । युया ओसाका, सिन्जी कागवा, होन्डा जस्ता खेलाडीले जापानको मुख्य हतियार हुन् ।
इतिहासमा कोलम्बिया जापान भन्दा अब्बल छ । कोलम्बियाले पछिल्ला तीन खेलमा जापानसँग हारेको छैन । पछिल्लो विश्वकपमा समेत कोलम्बियाले जापानलाई ४–१ ले हराएको थियो । तर, जापान अघिल्ला प्रदर्शन बिर्सन चाहन्छ ।
कोलम्बियाको सम्भावित प्लेइङ ११ : डेविड ओस्पिना, सान्टियागो एरायस, एरी मिना, डेभिन्सन सान्चेज, जोहान मोजिका,एबल अग्युलर, कार्लोस सान्चेज, जुआन कुडार्डो जेम्स रोड्रीगेज, लुइस फर्नान्डो मुरेल, राडामेल फाल्काओ
जापानको सम्भावित प्लेइङ ११ : इजी कावाशिमा, हिरोकी साकाई, माया योसिडा, तोमोकी माकिनो,युटो नागातोमो, माकोतो हसेबे, गाकु सिबासाकी, जेन्की हारागुची,केसुके होन्डा ताकासी इनवी, युया ओसाका
प्लेयर्स टु वाच :
जेम्स रोड्रीगेज (कोलम्बिया )
सन् २०१४ को ब्राजिल विश्वकपमा गोल्डेन बुट विजेता खेलाडी हुन्, जेम्स रोड्रीगेज । कोलम्बियन अट्याकिङ मिडफिल्डर रोड्रीगेज जापानविरुद्ध मुख्य खेलाडीको रुपमा रहने छन् ।
ब्राजिल विश्वकपमा उनले ५ खेल खेल्दै ६ गोल गरेका थिए । त्यसपछि उनलाई स्पेनिस क्लब रियल मड्रिडले भित्राएको थियो । रोड्रीगेज अहिले लोनमा जर्मन क्लब वायर्न म्युनिखबाट खेल्ने गर्छन । यो सिजन वायर्न म्युनिखबाट २६ वर्षीय रोड्रीगेजले २३ खेलमा ७ गोल गरेका थिए ।
रोड्रीगेजले विश्वकप छनोटमा १३ खेलमा ६ गोल गरेर आफु विश्वकपको लागि तयार रहेको देखाइसकेका छन् । त्यसैले, जापानविरुद्ध कोलम्बियाले रोड्रीगेजलाई मुख्य हतियार बनाउने छन् ।
युया ओसाका (जापान)
कोलम्बियासँगको खेलमा जापानको मुख्य खेलाडी युया ओसाका हुनेछन् । जर्मन बुन्डेस लिगामा खेल्ने २८ वर्षिय यी स्ट्राइकर बल पोजिसन र टिमलाई चाहिएको समयमा अट्याकिङ फुटबल खेल्न माहिर मानिन्छन् । त्यसिले उनले जापानकै उत्कृष्ट खेलाडी सिङ्जि कागवा , केसुके होन्डा र सिङ्जि ओकाजाकि जस्ता खेलाडिहरुलाई पछाडि पारिसकेका छन् ।
ओसाका ब्यवसायीक रुपमा क्वैन फुटबल क्लबबाट खेल्ने गर्छन् । बुन्डेस लिगमा यो सिजन २५ खेल खेल्दै ४ गोल गरेका थिए । ओसाकाले सन् २०१४ ब्राजिल विश्वकपमा जापानको लागि दुई खेल खेलेका थिए ।